रुस र युक्रेनबीको युद्धका कारण विश्वबजारमा पेट्रोलियम पदार्थको चरम अभावले मूल्य वृद्धि

RSS २०७९-०२-२१ १५:३६:०० बजे

काठमाण्डौ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले विश्वबजारमा पेट्रोलियम पदार्थको चरम अभावका कारण नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको प्रस्ट पार्नुभएको छ । 

राष्ट्रियसभाको आजको वैठकमा सांसद देवेन्द्र दाहालले पेश गर्नुभएको “खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य वृद्धिले पारेको असर न्यूनिकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्” भन्ने विषयक जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफमा उहाँले सो कुरा बताउनुभएको हो । 

मन्त्री बडुले भन्नुभयो, “रुस र युक्रेनबीको युद्धका कारण विश्वबजारमा पेट्रोलियम पदार्थको चरम अभाव र त्यसको कारणले पेट्रोलियम पदार्थममा भएको मूल्य वृद्धिका कारण नेपालमा पनि बाध्यत्मकरुपमा मूल्य वृद्धि गर्नुपरेको हो ।”

मन्त्री बडुले पेट्रोलियम पदार्थको मूल्य समायोजनमा सरकार सधैँ संवेदनशील रहेको प्रस्ट पार्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण आम जनतामा पर्न गएको असुविधालाई ध्यानमा राख्दै सरकारले हाल पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर मूल्य घटाउने र उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँ घटाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल आयल निगमबाट आर्थिक वर्ष २०७७÷०७८ मा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन गरी कुल दुई अर्ब ३८ करोड लिटर तथा एलपी ग्यास चार लाख ७८ हजार मेट्रिक टन खरिद गरिएको र सो बापत इन्डियन आयल कर्पोरेशनलाई रु एक खर्ब ५८ अर्ब रुपैयाँ भुक्तानी भएको छ, चालु आवको जेठ महिनाको पहिलो हप्तासम्ममा करिव दुई खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थको आयात भैसकेको छ, जुन गत आर्थिक वर्षको भन्दा दश महिनामा झण्डै एक खर्ब बढी आयात भएको अवस्था छ ।” उहाँले समग्र पेट्रोलियम पदार्थको अध्ययन गर्न उच्चस्तरीय अध्ययन कार्यदल गठन गरिएको समेत जानकारी दिनुभयो ।

 उहाँले पेट्रोलमा मासिक रु. एक अर्ब ८३ करोड घाटा, डिजेलमा मासिक तीन अर्ब ७३ करोड घाटा,  एलपी ग्यासमा मासिक दुई अर्ब ८६ करोढ घाटा, मट्टितेल र हवाई इन्धनमा ६५ करोड नाफा गरी हेर्दा हाल आयल निगम मासिक रुपमा सात अर्ब ७७ करोड घाटामा सञ्चालित रहेको जानकारी दिनुभयो ।  सो प्रस्तावलाई सांसद भैरव सुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखर कुमार सिंहले समर्थन गर्नुभएको थियो । प्रस्तावमाथिको छलफलमा सांसदहरु राजेन्द्र लक्ष्मी गैरे, गंगा कुमारी वेल्वासे, भगवती न्यौपाने, अनिता देवकोटा, सुमित्रा विसी, कमला पन्त, सुरेश कुमार आले मगर र दिलकुमारी रावल थापा र डा विमला राई पौड्यालले मूल्य वृद्धि घटाउनुपर्ने माग गर्नुभएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।