कालीगण्डकीमा निर्माणाधीन पुल, एक दशकमा ८० प्रतिशत काम

RSS २०७९-०२-२४ १५:४४:०० बजे

काठमाण्डौ।कालीगण्डकीको निर्दिम भुजातघाट जोड्ने पक्की पुल निर्माणको काम थालनी भएको करिब एक दशक भयो । तीन वर्षमा काम सम्पन्न गर्ने योजना रहे पनि पुल निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन ।

लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रामपुर–८ र गण्डकी प्रदेशको स्याङ्गजाको चापाकोट–९ जोड्ने कालीगण्डकी नदीमा निर्माण भइरहेको पुलको काम हालसम्म करिब ८० प्रतिशत भएको निर्माण कम्पनीले जनाएको छ ।

विसं २०६९ असारमा सम्झौता भएको पुल मङ्सिरदेखि निर्माण प्रक्रिया सुरु गरिएको हो । सम्झौतानुसार तीन वर्षभित्र पुल निर्माण कार्य सक्नुपर्ने भए पनि चापाकोट क्षेत्रमा डिजाइन परिवर्तन गर्नुपर्ने हुँदा लामो समय लम्बिन पुग्यो । 

पटक–पटक म्याद थप गरेर निर्माणको काम अगाडि बढाइएको छ । विसं २०७७ को चैतमा डिजाइन पास भएपश्चात् निर्माणको काम धमाधम अगाडि बढाइएको निर्माण व्यवसायी यामबहादुर श्रेष्ठले बताउनुभयो ।

“पुल सुरु गरेको अवधि धेरै समय लम्बियो, डिजाइन परिवर्तनले गर्दा करिब चार÷पाँच वर्ष त काम नै गर्न पाइएन, डिजाइन पास भएपछि अहिले धमाधम काम भइरहेको छ, ८० प्रतिशत त काम सम्पन्न भइसकेको छ, अब तोकिएकै समयमा नै निर्माणको काम सकिन्छ”, उहाँले भन्नुभयो ।

कन्काई नेपाल प्रगति मिलेनियम जेभीले भ्याटसहित रु १५ करोडको लागतमा सम्झौता गरी निर्माण कार्य थालनी गरेको हो । हाल यहाँ भारतीय मुलुक र नेपाली मुलुकका गरी २० जना कामदार दैनिक परिचालन गरिएको छ ।

असारभित्र दुई स्पान सम्पन्न गर्ने र वर्षायाम सकिएपछि एक स्पानको काम सक्ने बताइएको छ । आगामी चैत मसान्तभित्र काम सम्पन्न गर्ने गरी निर्माणको कामलाई तीव्र बनाइएको छ ।

पुलले कालीगण्डकी वारिपारी सामाजिक, आर्थिक र व्यावसायिक क्षेत्रमा आमुल परिवर्तन गर्ने चापाकोट नगरपालिका–९ स्थित निर्दिम बस्ने बन्धुराज तिमिल्सिना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गाउँघरमा उत्पादन भएका सामग्री ओसारपसार गर्न, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नागरिकले राम्रो सुविधा उपभोग गर्न पाउनेछन्, विकासको आधार नै नदी वारिपारीका लागि मोटरेबल पुल हो ।” 

रामपुर नगरपालिका–८ बस्ने गणेश आचार्यले पुलले दैनिकी जीविकोपार्जन, आरामदायी यात्रा मात्र नभई दुई जिल्ला बीचको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभएको छ । यस पुलबाट स्याङ्गजाको चापाकोट, पाल्पाको रामपुर नगरपालिकाका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । यहीँ पुलबाट रामपुर, चापाकोट, गल्याङ्ग, वालिङ बजारमा दैनिक आवतजावत गर्न टेवा पुग्नेछ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।