धरान।धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित मेयर साम्पाङले राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा पनि स्थापना गर्न गृहकार्य भइरहेको विषयमा फेसबुकमार्फत् जानकारी दिएका हुन् ।
म्यागेसे पुरस्कार विजेता महावीर पुनको अगुवाइमा काठमाण्डौको कीर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनमा रहेको छ । वैज्ञानिक, स्टार्टअप तथा उद्यमशीलताको क्षेत्रमा खोज, अनुसन्धान र विकास गर्ने उद्देश्यका साथ आविष्कार केन्द्र सञ्चालनमा आएको हो ।पुनले सन् २०१२ मा सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका थिए। यस्तो विशाल योजनालाई मुर्तरुप दिन ठुलो आर्थिक सहयोगको खाँचो हुनेभएकाले पुनले नेपाल सरकारको ढोका बारम्बार ढक्ढकाएका थिए।