भासिएको सडक एकतर्फीमात्रै सञ्चालन

RSS २०७९-०२-२८ १३:१३:०० बजे

काठमाण्डौ।पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक सडक भासिएको ठाउँबाट सबै सवारीसाधन सञ्चालन गरिएको छ । सडक भासिएको ठाउँको कुनापट्टि भित्ता खन्ने काम जारी रहँदा आजदेखि सबै खाले सवारी सञ्चालन गरिएको हो ।

उक्त खण्डमा एकतर्फीरूपमा सवारी सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । रातिको समयमा जोखिम हुने भएकाले शुक्रबार राति ७ बजेदेखि आज बिहान ६ बजेसम्म सडक बन्द गरेर काम गरिएको थियो । 

“साना तथा ठूला सबै गाडी चलेका छन्, काम हुँदै गर्दा केही समय रोकेर सवारी पठाउने गरिएकाले केही समय जाम हुने गरेको छ”, उहाँले भन्नुभयो । सवारीसाधनको चाप रहेको र एकतर्फी सवारी सञ्चालन हुँदा पृथ्वीराजमार्गको आँबुखैरेनी–डुम्रे खण्डमा सवारीको जाम हुने गरेको छ । 

केही दिनदेखि परेको निरन्तर वर्षाका कारण पृथ्वीराजमार्गको तनहुँ खण्डका विभिन्न ठाउँमा सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा सर्वसाधारणले कष्टकर यात्रा गर्र्नुपरेको छ । मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा सडक खन्दा विभिन्न ठाउँमा सडक हिलाम्मे भएपछि सवारी फस्ने गरेका छन् । तनहुँ खण्डका आँबुखैरेनी, डुम्रे, छिर्कने, घाँसीकुवा, म्याग्दे, दुलेगौडालगायतका ठाउँमा सडक बिग्रिएर खाल्डाखुल्डी हुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्या हुने गरेको छ ।

बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा बस र व्यास नगरपालिका–१२ मा आज दिउँसो ट्रक फसेका कारण केहीबेर राजमार्ग अवरुद्ध भएको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।