मुन रक्स इन्टरनेशनलले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कमसल

RSS २०७९-०३-२६ ०८:३५:०० बजे

काठमाण्डौ।जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको छ । प्रदेश सरकार, १ नं प्रदेशको रु एक करोड ५० लाख लगानीमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको हो ।

जिल्लामै अक्सिजन उत्पादन गर्ने उद्देश्यले जडान गरिएका उपकरण सही देखिए पनि ट्रस भवन कमसल बनेको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताउनुभयो । “ट्रस भवनको पर्खाल धकेल्दा ढल्ने र छानासमेत कागजजस्तो हालेको देखिएको छ”, उहाँले भन्नुभयो, “पर्खालभन्दा माथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको देखिएकाले भुक्तानी रोक्न भनिएको छ ।”

अक्सिजन प्लान्टको ट्रस जिल्ला अस्पतालकै एउटा भवनसँग अडेस लगाएर (टाँसेर) बनाइएको छ । तर, ट्रस टाँसिएको भागमा पर्खाल लगाइएको छैन । सिङ्गल इँटाको पर्खाल रहेकाले निर्माणाधीन अस्पताल भवनको निर्माण सामग्री ओसारपसारका क्रममा ओहोरदोहोर गर्ने ठूला सवारी साधन (हेभिवेट) गाडीको कम्पनले अक्सिजन प्लान्टको ट्रस चर्किएर भत्किने खतरा छ । अक्सिजन प्लान्टको ट्रस निर्माणका क्रममा गुणस्तरहीन काम भएको आवाज उठाउँदासमेत निर्माण कम्पनीका प्रतिनिधिले बेवास्ता गरेको स्थानीय बासिन्दा इन्द्र कसजूले बताउनुभयो । 

“अक्सिजन प्लान्टजस्तो संवेदनशील ठाउँमा कमजोर संरचना बनेकाले दुर्घटना निम्तिने सम्भवना छ”, उहाँले भन्नुभयो, “खबरदारी गर्दा निर्माण कम्पनीले बजेट अभाव देखाएको छ ।” अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत शुक्रबार नगरप्रमुख तीर्थराज भट्टराई, जिसस सदस्य दुर्गाप्रसाद घिमिरे, कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, राप्रपाका अध्यक्ष ललितकुमार राईलगायतको टोलीले निरीक्षण गरेको थियो ।

“अक्सिजन प्लान्टको भवन निर्माण कम्पनीको लापरबाही देखिएको छ”, नगरप्रमुख भट्टराईले भन्नुभयो, “लापरबाही गर्ने निर्माण व्यवसायीमाथि तत्काल छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ ।” अक्सिजन प्लान्ट जडान गर्ने मुनरक्स इन्टरनेशनल प्रालिका सञ्चालक अशोक धमलाले प्लान्टको उपकरण खरिद गरेर ल्याउने र इन्स्टलेसन मात्र आफ्नो दायित्व भएको र बाँकी काम अस्पतालले गर्नुपर्ने  बताउनुभयो ।” 

ट्रस निर्माणका क्रममा गुणस्तर कायम गर्न पटक–पटक निर्माण कम्पनीलाई खबरदारी गर्दा ‘हुन्छ’ भन्दै टारेको जिल्ला अस्पतालका प्रमुख डा नीतु लामाले बताउनुभयो । “अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ट्रस भवन यस्तै हुनुपर्छ भनेर डिजाइन थिएन । तर, स्थापना गर्ने जिम्मा सम्बन्धित ठेकेदार कम्पनीको हो”, उहाँले भन्नुभयो, “सम्भौता अनुसार ठेकेदार कम्पनीले प्लान्ट स्थापना ग¥यो । गुणस्तर कायम गर्न पटक–पटक गरिएको खबरदारीलाई बेवास्ता गर्दा संरचना कमजोर भएको छ ।” अक्सिजन प्लान्ट स्थापनाका क्रममा भएको लापरबाहीको विषयमा छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताउनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।