लोकप्रिय बन्दै अरिङ्गालका परिकार,रु चार लाखदेखि रु ६ लाखसम्म कमाइ

RSS २०७९-०३-३१ १७:०९:०० बजे

काठमाण्डौ।अरिङ्गालको परिकार चाख्नुभएको छ ? यदि छैन भने म्याग्दी आउनुहोस् । यहाँ तपाईँ अरिङ्गालको परिकार खान पाउनुहुन्छ । सदरमुकाम बेनीस्थित एउटा रेष्टुरेन्टले अरिङ्गालको परिकार बनाउने गरेको छ । परिकार खान चार दिन अघि नै अर्डर गर्नुपर्छ । 

एक प्लेट फ्राइ अरिङ्गालको लार्भालाई रु ५०० तिर्नुपर्छ । जङ्गल तथा ग्रामीण भेगमा सर्वसाधारण अरिङ्गालको गोला खोज्न जुट्छन् । मुख्यतथा असारदेखि असोजसम्म यस्तो क्रम बढी चल्छ । अरिङ्गालको गोला काटेर त्यसबाट लार्भा (किरा) निकालिन्छ । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जना भट्टचनले अरिङ्गालको परिकार बनाएर बिक्री गर्दै आउनुभएको छ । सिर्जनालाई ग्राहकले ‘अरिङ्गालवाली’को नामले चिन्ने गरेका छन् । यसरी व्यापार गर्न थालेको पाँच वर्ष भएको भट्टचन बताउनुहुन्छ । 

“ग्राहकको रोजाइमा अरिङ्गालको परिकार बढी पर्छ”, उहाँले भन्नुभयो । भट्टचनको  अरिङ्गाल व्यापार बेनीमा मात्रै सीमित छैन । काठमाडौँ, पोखरालगायत ठाउँबाट समेत माग आउन थालेको छ । “परिकार बनाई प्याकिङ गरेर पठाउने गरेकी छु”, उहाँले भन्नुभयो । फ्राइ अरिङ्गाल प्रतिप्लेटको रु ५०० पर्छ । यही परिकारबाट हरके याममा रु चार लाखदेखि रु ६ लाखसम्म कमाइ हुने गरेको उहाँ बताउनुहुन्छ । 

अरिङ्गालको लार्भा एक माना रु एक हजार ६०० देखि रु दुई हजारसम्ममा उहाँले खरिद गर्नुहुन्छ । यसरी खरिद गरेको अरिङ्गाल भुटेर भट्टचनले बिक्री गर्नुहुन्छ । “हाल दैनिक १० देखि १५ प्लेटसम्म बिक्री गर्न सकिएको छ, साउनदेखि असोज अन्तिमसम्म दैनिक ५० प्लेटसम्म बिक्री हुन्छ”, उहाँले भन्नुभयो । भिरमह शिकारलाई जस्तै अरिङ्गाल शिकारलाई पनि सरकारले अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने माग बढेको छ । सामुदायिक वन तथा व्यक्तिगत जग्गामा रहेका रुखबाट अरिङ्गालको शिकार गर्न पाइने वा नपाइने भन्नेबारे  वन डिभिजन कार्यालयसित कुनै जवाफ भने छैन । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।