काठमाण्डौ।गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिलाई गहिराईमा बुझ्न जरुरी छ ।.बिदेशी सञ्चितीमा भइरहेको गिरावटलाई रोक्न चालू आवको मौद्रिक नीतिमा कडा प्रावधानसमेत व्यवस्था गरिएको छ ।
कोभिड अनि रुस र युक्रेन युद्धले विश्वव्यापी प्रभाव परिरहेको बेला नेपाल पनि अछूतो रहने कुरो भएन ।
शेयर बजार भनेको यस्तो बजार हो जहाँ अनुभवी र ठूला लगानीकर्ताहरुसमेत बजारले मात खुवाइरहेको हुन्छ । सोही भूमरीमा नयाँ लगानीकर्ताहरु पनि यदाकदा नपर्ने कुरै भएन ।
चालु आवको मौद्रिक नीति र शेयर बजार
नेपाल राष्ट्र बैंकद्वारा गत शुक्रबार जारी गरेको चालु आवको मौद्रिक नीतिले शेयर बजार तात्विक असर पार्ने नीति देखिदैन । मौद्रिक नीतिले ४–१२ पूर्ण रुपमा खारेज नगरे तापनि १२ करोड रुपैयाँसम्म एउटै बैंक तथा वित्तीय संस्थाबाट भएको व्यवस्थाले निकै स्वागतयोग्य र राम्रो पक्षका रुपमा लिन सकिन्छ ।
यसैगरी मौद्रिक नीतिले शेयर धितोकर्जामा ७० प्रतिशतको मार्जिन सीमालाई नचलाईकन यथावत राखिनु पनि आगामी दिनमा शेयर बजारका लागि उत्साहप्रद र सकारात्मक प्रभाव पार्ने सहजै अनुमान गर्न सकिन्छ ।
यसका साथै स्टक ब्रोकरद्वारा नै मार्जिन कर्जा प्रवाह गर्ने व्यवस्था मौद्रिक नीतिमा हुनुले राम्रो पक्ष हो ।
यस्तै नेपाली शेयर बजारमा करिब ७० प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाको छ । बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा मर्जर तथा प्राप्ति प्रक्रियाका समयमा शेयर कारोबार रोक्का हुने विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमबमोजिम व्यवस्था मिलाइएको छ । यता धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले केही समयअघि नै साउनदेखि मर्जरका क्रममा सूचीकृत कम्पनी रोक्का हुने प्रावधान हटाइने बताइसकेका छन् । यो नयाँ व्यवस्थाका कारण बजारमा थप तरलता सिर्जना भई उछाल आउने सम्भावना प्रबल छ ।
राष्ट्र बैंककै तथ्यांक अनुसार बैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रुपमा बढ्दो क्रममा रहेको छ । नजिकिंदो चाडपर्वले निकट समयमा रेमिटेन्सको बाढी नै आउने पुरानै चलन हो । जसले गर्दा तरलता सहजतामा सकारात्मक भूमिका खेल्नेछ ।
संघीय संसदको निर्वाचनको मिति तय पनि साउनभित्रै हुने प्रधानमन्त्री शेर बहादुर देउवाले सार्वजनिक कार्यक्रममार्फत नै संकेत गरिसकेका छन् । संघीय संसदको चुनावमा विभिन्न माध्यमबाट राजनीतिक दलहरुले चुनावमा निकै ठूलो रकम खर्चिनु पर्ने हुन्छ । चुनावी माहौलले बजारमा प्रचुर मात्रामा तरलता सिर्जना गरेको विगतको तथ्यांकले उजागर गर्दछ ।
उसो त साउन महिना नेप्सेमा सूचीकृत कम्पनीहरुले चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्नेे समय भएको र कम्पनीहरुको प्रतिफल सम्बन्धित शेयरधनीहरुलाई वितरण गर्ने समय पनि सुरु हुने सिजनका रुपमा रहेको छ । जसले गर्दा वर्षभरि पर्खेर प्रतिफल प्राप्त गर्नुभन्दा अबको केही समयमै पाकेको फल अर्थात् कम्पनीको १ वर्षभरिको प्रतिफलमा सहभागी हुने समय पनि हो । प्रायःसाउन,भदौ र असोज महिनामा नेप्से परिसूचक बढेको नै इतिहास हामीसामु छर्लङ्ग नै छ ।
अनुत्पादक क्षेत्र मानिएको रियल सेक्टरको लगानीमा यसपटक भने राष्ट्र बैंकले कडा डण्डा चलाएको छ । चालु आवको मौद्रिक नीतिले घरजग्गामा जाने कर्जालाई कडा नियन्त्रण गर्ने नीति अङ्गीकार गरेको छ । नयाँ व्यवस्था अनुसार काठमाण्डौ उपत्यकामा घरजग्गाको धितो राखेर बढीमा ३० प्रतिशत मात्रै कर्जा पाइनेछ भने काठमाण्डौ उपत्यकाबाहिर ४० प्रतिशतसम्म मात्रै कर्जा पाइने व्यवस्थाले अनियन्त्रित तथा अव्यवस्थि घरजग्गाको कारोबारलाई नियन्त्रण नै गर्ने नीति लिइएको बुझ्न सकिन्छ । घरजग्गाको लगानीलाई राष्ट्र बैंकले अंकुश लगाउँदा शेयर बजारमा नै लगानी भित्रिनै सम्भावनाका ढोकासमेत खुला गरेको संकेत हामीसामु प्रष्ट नै छ ।
रुस र युक्रेनको युद्धले विश्वका कतिपय देशहरु टाँट पल्टिरहेका तथ्यांकहरु आइरहेका छन् । हिजो दक्षिण एशियाली मुलुकमा नै बलियो राष्ट्रका रुपमा दरिएको श्रीलंकासमेत टाँट पल्टिएसँगै अर्थमन्त्रालय र राष्ट बैंक निकै चिन्तित र भयभीत छ । डलर सञ्चिती घट्न नदिन आयात नै ठप्प पारिएको छ । अत्यावश्यक वस्तु बाहेक अधिकांश विलासी वस्तु र सवारीसाधनको आयात ठप्प छ । बैदेशिक व्यापार र सवारीसाधनको व्यापारसँग जोडिएका व्यापारी तथा व्यवसायीहरु घुमिफिरी शेयर बजारमा नै आउने प्रबल सम्भावनालाई उजागर गरेको छ । २ वर्षअघि विश्वव्यापी महामारीका रुपमा रहेको कोभिडका कारण बैदेशिक व्यापारसँग सम्बन्धित व्यापारी तथा व्यवसायीका लागि उत्तम प्लेटफर्मका रुपमा शेयर बजार नै रहेको थियो । तत्कालीन समयमा दैनिक औसत कारोबार रकम नै १० अर्ब रुपैयाँ हुँदै दैनिक २२ अर्ब रुपैयाँसम्म भइरहेको विगतको तथ्यांकले बोल्दछ ।
चौतर्फी दबाबकै कारण विषम परिस्थितिमा समेत राष्ट्र बैंकले यसपटक चालु आवका लागि सार्वजनिक गरेको मौद्रिक नीतिले शेयर बजारमा उछाल आउने आशा राख्न सकिन्छ । मौद्रिक नीतिले अन्य क्षेत्रका लागि कसिलो नीति ल्याउँदा शेयर बजारलाई नियन्त्रण गर्ने प्रावधान समेटिएका छैनन् जसले आगामी दिनमा निर्विकल्प उछाल आउने कुरामा हामी ढुक्क हुन सकिन्छ ।