नीतिगत सुधार भए तापनि किन खुम्चिदैछ शेयर बजारमा टर्नओभर?

अर्थबिट २०७९-०५-२९ १२:४१:०० बजे

काठमाण्डौ।अर्थतन्त्रको ऐना मानिने शेयर बजार पछिल्लो समय नेपालको अर्थतन्त्र र अन्तर्राष्ट्रिय अर्थतन्त्रकै कारणहरुले प्रभावित बनिरहेको छ । राष्ट्रिय अर्थतन्त्र धराशयी बनिरहेको यस बखत त्यसैको बाछिटाले शेयर बजारलार्ई पनि छोएको छ । 

अघिल्ला वर्षहरुमा दैनिक कारोबार रकम २२ अर्ब रुपैयाँ सम्म भइरहँदा आजकल १ अर्ब रुपैयाँमुनि खुम्चिनु परेको छ । घट्दो नेप्से परिसूचकसँग सूचीकृत कम्पनीहरुका शेयरमूल्यमा आएको गिरावटले दैनिक कारोबार रकमसमेत निकै नराम्रोसँग प्रभावित बन्न पुगेको छ । 

बैंकहरुमा देखिएको क्रेडिट क्रन्चको भयावह अवस्था,उच्च ब्याजदर,व्यापार व्यवसायमा छाएको मन्दी र महँगी लगायतका कारणले नेप्से परिसूचक विगत लामोसमयदेखि २ हजार विन्दू आसपास घुमिरहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले पूँजीबजारको विकास तथा विस्तारका लागि नीतिगत सुधारका प्रयास गरे तापनि लगानीकर्ताहरुमा मनोबल उठ्न नसकिरहेको अवस्था छ जसका कारण शेयर कारोबारमा समेत सुस्तता त छाएको छ नै दैनिक कुल कारोबार रकमसमेत १ अर्ब रुपैयाँमा संकुचन आइरहेको छ । 

अघिल्ला केही महिनाहरुमा दैनिक कारोबार रकम औसतमा २ अर्ब रुपैयाँ हाराहारी भइरहेकोमा गत भदौ १६ गते ६९ करोड,भदौ २० गते ९० करोड, भदौ २२ गते ८६ करोड,भदौ २६ गते ७४ करोड,भदौ २७ गते ८३ करोड र भदौ २८ गते ९२ करोड रुपैयाँ हाराहारी कारोबार सम्पन्न भए । 

कारोबार रकम १ अर्ब रुपैयाँ मुनि खुम्चिँदा बजार सरोकारवालाहरुको अर्थबिटले धारणा जान्न चाहेको थियो । यस विषयमा धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका सीइओ कृष्ण बहादुर कार्की,स्टक ब्रोकर्स एसोसिएन र शेयर लगानीकर्ताको धारणा समेट्ने प्रयास गरेका छौँ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका सीइओ कृष्ण बहादुर कार्कीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएका आर्थिक नकारात्मक देखिनुले समेत नेपालको शेयर बजारमा नकारात्मक असर परेको औँल्याए । बैंकबाट कर्जा सहज नभएको र तरलता संकटले बजारलाई असर पारेको उनको दाबी छ । बजार ओरालो लागेसँगै दैनिक कारोबार रकम अर्ब मुनि भएकोमा उनले चिन्तासमेत व्यक्त गरे । 

तरलतालगायत अरु सबै कुराको असरले नै शेयर कारोबार दैनिक १ अर्ब रुपैयाँ तल सीमित भएको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीको ठहर छ । नजिकिँदो चाडबाड र लगानीकर्ताहरुमा देखिएको चरम निराशाले समेत कारोबार खुम्चिएको उनले बताए । विभिन्न निकायबाट लाइसेन्स लिन पूँजी जुटाउनैका लागि बजारबाट पैसा निकाल्दासमेत यस्तो असर परेको उनको जिकिर छ ।‘शेयर किन्नेहरुले पर्ख र हेर  गर्ने अनि बेच्नेहरुले समेत हतार गरेर किन बेच्ने भन्ने मनोविज्ञानले बजारमा कारोबार खुम्चिएको हो’,अध्यक्ष मैनालीले अर्थबिटसँग भने , ‘पछिल्लो समयमा ट्रेडरहरु हावी भएको नेपाली शेयर बजारमा उनीहरुको इक्विटी सकिएकाले पनि भोल्युम घटिरहेको छ ।’

यता सक्रिय शेयर लगानीकर्ता पिताम्बर गौतमको भने बजारमा ठूलो गिरावट आएपछि बजार सस्तिने बुझाइ छ । विगतका इतिहासमा न्यून विन्दू छुने बेलामा दैनिक कारोबार रकम कम हुँदै गएको र अब अझै दैनिक कारोबार रकम ५० करोडभन्दा तल आउने उनको दाबी छ ।  

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।