सोपान फर्मास्युटिकल्सले १४ करोड बराबरको आइपीओ निष्काशन गर्ने,बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल नियुक्त

अर्थबिट २०७९-०६-०४ ०७:३०:०० बजे

काठमाण्डौ।सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा १४ लाख कित्ता धितोपत्रको सार्वजनिक निष्काशन गर्ने भएको छ ।

हाल कम्पनीको जारी पूँजीलाई वृद्धि गरी ७० करोड कायम गर्ने र सो जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने कार्यका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । सो निष्काशन गर्ने सम्बन्धी सम्झौतापत्रमा सोपान फर्मास्युटिकल्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन न्यौपाने र एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले एक कार्यक्रमका बीच एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा आज हस्ताक्षर गरे । उक्त कार्यक्रममा सोपानका वित्त प्रमुख रुपेश महतका साथै क्यापिटलका चिफ बिजनेश अफिसर कमल प्रसाद नेपाल तथा फण्ड म्यानेजमेण्ट प्रमुख आशिष राज पाण्डेको समेत उपस्थिति रहेको थियो । सोपानका प्रमुख कार्यकारी अधिकृतले उक्त शेयर निष्काशन यसै वर्षभित्रमा नै सम्पन्न गरिसक्ने गरी क्यापिटलसँग योजना बनाएको समेत जानकारी दिए । 

ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वार्ड नं ८ मा अवस्थित लब्ध प्रतिष्ठित गैर आवासीय नेपाली व्यवसायीहरु, नेपाली सफल व्यापारिक घराना, औषधि, स्वास्थ्य तथा अन्य क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुको संलग्नतामा स्थापित सोपान फर्मास्युटिकल्स लिमिटडले ISO ,विश्व स्वास्थ्य संगठन-WHO_ तथा युरोपियन मापदण्डको Good Manufacturing Practices (GMP) अनुसारको अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी आ.व. २०७८–०७९ देखि उच्च गुणस्तरको विभिन्न प्रकारका औषधिहरु उत्पादन गर्दै आएको छ । 

यस कम्पनीले औषधि व्यवस्था विभागमा ११० वटा औषधिहरुको उत्पादन अनुमतिको लागि आवेदन पेश गरेकोमा हालसम्म ६० वटा औषधिहरुको उत्पादन अनुमति प्राप्त भैसकेको र २५ वटा औषधिहरु हाल बजारमा विक्री वितरण भैरहेको छ । त्यसैगरी थप ६० वटा औषधिहरु अनुसन्धान तथा विकासको चरणमा रहेका छन् । कम्पनीले आगामी २ वर्ष भित्र औषधिको संख्या २०० पु¥याउने लक्ष लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन न्यौपानेले बताएका छन् ।  

यस उद्योगले एन्टिवायोटिक्स, मुटुरोग, मधुमेह, स्वास प्रस्वास, छालारोग, नशा तथा हाडजोर्नी, मानसिक रोग, पाचन प्रणाली, प्रोस्ट्रेट, प्रतिरक्षा प्रणाली र भिटामिन्ससँग सम्बन्धित औषधिहरु उत्पादन गर्दै आइरहेको छ । साथै आगामी २ वर्ष भित्रमा आइ एण्ड इएर ड्रप्स र सफ्ट जेल क्याप्सुल समेत उत्पादन गर्ने योजना बनाएको छ ।    

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।