‘आर्थिक तरलताका कारण उद्योग धरासायी हुने अवस्थामा’

अर्थबिट २०७९-०६-०९ ०९:०८:०० बजे

काठमाण्डौ।नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक तरलताका कारण नेपालका उद्योग धरासायी बन्दै गएको बताउनुभएको छ । चितवन उद्योग सङ्घको ३१औँ साधारणसभामा उहाँले आर्थिक तरलता र उच्च ब्याजदरका कारण उद्योगीहरू पलायन बन्ने अवस्थामा पुगेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “विगत तीन वर्षदेखिको तरलता र अहिले भएको ब्याजदर वृद्धिले उद्योगी पलायन हुने स्थिति आएको छ, त्यसले गर्दा नेपालका उद्योग धरासायी बन्दै गएका छन् ।” सात प्रतिशतमा रहेको ब्याजदर अहिले बढेर १४ प्रतिशतमा पुगेको जनाउँदै उहाँले यस विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।

तरलताका कारण व्यावसायी असामान्य स्थितिमा पुगेको उहाँको भनाइ थियो । यस विषयमा आफूहरूले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसँग समेत कुरा गरेको बताउनुभयो ।

नेपालका उद्योगहरूले आयात प्रतिस्थापन गर्न सक्ने गरी काम अघि बढाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “निर्यातलाई बढाएर आयातलाई प्रतिस्थापन गर्नु आजको अवश्यकता हो ।” आयातलाई प्रतिस्थापन गर्नका लागि उद्योगहरू खुलेर उत्पादन बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले देशमा यही अवस्था रहे आर्थिक सङ्कट आउन सक्ने बताउनुभयो । ब्याज बढ्ने र लगानी गर्ने पैसा पाउन कठिन हुने हुँदा आर्थिक सङ्कटको स्थिति आउने उहाँको भनाइ थियो । उद्योगी व्यवसायीको पक्षमा निजी क्षेत्र एकापसमा समन्वय गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बागमती प्रदेश अध्यक्ष तारानाथ चौलागाईँ, नेपाल उद्योग परिसङ्घ बागमती प्रदेश उपाध्यक्ष भेषराज दबाडी, चितवन उद्योग सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठ, रुपन्देही उद्योग सङ्घका अध्यक्ष कृष्ण पराजुली, उद्योग सङ्घ चितवनको गभर्नर समितिका अध्यक्ष दिवाकर खरेललगायतले बोल्नुभएको थियो । उद्योग सङ्घका जिल्ला अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।