कोसेलीमा ब्राण्ड बनेको मुस्ताङको स्याउ

खेमराज गौतम २०७९-०६-१७ ०८:१९:०० बजे

काठमाण्डौ।बागलुङका हरेक फलफूल पसलमा मुस्ताङको स्याउ पाइन्छ । अघिपछि भारत र चीनबाट आएको स्याउ बिक्री गर्ने यहाँका व्यापारीहरुले समेत दसैँ तिहारमा मुस्ताङको स्याउको ठूलो मात्रामा कारोबार गर्छन् । 

दसैँ तिहारको अवसरमा बागलुङेहरुले कोसेलीका रूपमा मुस्ताङको स्याउ आफन्तको घरमा पठाउने चलन छ । हिमालपारिको जिल्ला मुस्ताङबाट आयात गरिएको च्याङ्ग्रा र स्याउ नवविवाहित जोडीले कोसेलीका रूपमा माइत लैजाने चलनका कारण समेत बागलुङमा मुस्ताङको स्याउ बिक्री गर्नका लागि व्यापारीहरुलाई भ्याइनभ्याइ भएको हो । सक्नेले च्याङ्ग्रासहित स्याउ कोसेली लैजाने भए पनि नसक्नेले मुस्ताङको स्याउमात्रै लैजाने प्रचलन छ । 

दसैँ तिहारलाई मुस्ताङमा भ्रमणको उपयुक्त सिजनका रूपमा लिइँदै आइएको छ । मुस्ताङ भ्रमणमा पुगेका अधिकांशले फर्कने समयमा मुस्ताङको स्याउ लिएरै आउँछन् । बागलुङसहित धौलागिरिका म्याग्दी, मुस्ताङ, पर्वतलगायतका जिल्लामा कोसेलीको रूपमा खुबै प्रयोग हुन्छ मुस्ताङी स्याउ । 

अहिले बजारमा मुस्ताङको स्याउको कारोबार उच्च रहेको फलफूल व्यापारी शङ्कर रेग्मीले बताउनुभयो । “अघिपछि स्याउ खरिद गर्छन् लैजान्छन्, कहाँको हो कसैले सोधपुछ गर्दैन, तर दसैँ तिहारमा मुस्ताङको स्याउबाहेक अन्य स्याउ बिक्री हुँदैन” रेग्मीले भन्नुभयो “स्वादिष्ट भएर पनि होला, मुस्ताङको स्याउनै कोसेली हो भन्ने भइसकेको छ बागलुङमा ।”

दसैँ शुरु भएपछि मात्रै रु छ लाखभन्दा बढीको स्याउ बिक्री गरेको रेग्मीको भनाइ छ । रेग्मीले स्याउ मात्रै नभई मुस्ताङको आलुको समेत बजारमा उच्च माग रहेको बताउनुभयो । उहाँले पर्वतको बनौ, बागलुङको ढोरपाटन, ताराखोलालगायतका क्षेत्रमा पाइने आलु समेत बिक्री गर्दै आउनुभएको छ ।

“मुस्ताङको स्याउ सडकको दुरावस्थाका कारण बजार ल्याउनै समस्या छ, अन्य जिल्लाबाट समेत मुस्ताङको स्याउको माग भइरहेकाले बल्ल तल्ल स्याउ आउँछ, आएको स्याउ छिनभरमै सकिन्छ”, अर्का फलफूल व्यापारी खिम कार्कीले भन्नुभयो । रेग्मी र कार्की जस्ता बागलुङका दुई दर्जन व्यापारीले मुस्ताङको स्याउको बागलुङ बजारमा आयात गर्दै आएका छन् । अहिले मुस्ताङी स्याउ प्रतिकेजी रु १७० मा बिक्री हुँदै आएको छ । 

मुस्ताङको स्याउ जस्तै आलुसमेत निकै स्वादिष्ट भएकाले महङ्गो भए पनि खरिद गरेर उपभोग गर्ने गरेको र दसैँ तिहारमा कोसेलीका रूपमा निकै प्रयोग गरिने स्थानीयवासी राजेश घर्तीले बताउनुभयो ।

ताराखोला र ढोरपाटनको आलु समेत बागलुङबाट पोखरा लगायतका क्षेत्रमा निकासी हुने गरेको छ । तर बागलुङ जिल्लामा मुस्ताङको आलु तथा स्याउ यति नै भित्रिन्छ भन्ने एकिन तथ्याङ्क नभए पनि जिल्लामा धेरै मात्रमा मुस्ताङको स्याउ आयात हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकाल बताउनुहुन्छ । 

“ढोरपाटनमा समेत इटालियन स्याउको सफल परीक्षण भएको छ, अब बागलुङको केही बजार क्षेत्रलाई ढोरपाटनका स्याउले कभर गर्नुपर्छ भन्ने छ, अहिलेसम्म दर्सै तिहारको सिजनमा मुस्ताङको स्याउको नै उच्च माग देखिन्छ”, ढकालले भन्नुभयो “मुस्ताङको स्याउ दसैँ तिहार पछि सकिन्छ त्यस लगत्तै विदेशी स्याउ आउने गर्छ, तर कोसेलीका रूपमा मुस्ताङको स्याउ लैजाने यहाँ चलन नै रहेछ ।”

बागलुङ बजारमा कर्मचारी, सरकारी जागिरे, सेना, तथा प्रहरीले समेत घर जाने समयमा मुस्ताङको स्याउ, आलु र बागलुङमा उत्पादन भएको भाङ्गो लैजाने प्रचलन बढ्दो छ । 

दसैँ तिहारमा छुट्टीमा घर जान लागेका कर्मचारीहरुका परिवारले समेत स्याउ र आलु ल्याउन आग्रह गर्ने गरेको फलफूल व्यापारीहरुले बताउँदै आएका छन् । बागलुङ सरुवा भएर आउने जुनसुकै कर्मचारीलाई घरबाट मुस्ताङको स्याउ, ढोरपाटनको आलु र ताराखोलाको भाङ्गो किनेर ल्याउने सुझाव आउने गरेको छ । दसैँमा आफन्तकहाँ टीका र आशीर्वाद ग्रहण गर्न जाँदा समेत स्याउको कोसेली लगेर जाने प्रचलन भएकाले दसैँ तिहारमा फलफूलको उच्च माग हुने गरेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।