नबिल इन्भेष्टमेन्टमाथि नेप्सेको डण्डा, कार्वाही होला त ?

अर्थबिट २०७९-०६-२६ ०१:४७:०० बजे

काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड अन्तर्गतका २ म्युचुअल फण्डको कारोबार रोक्का गरेको छ । 

बुधबार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड अन्तर्गतका २ म्युचुअल फण्डहरु क्रमशः नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ को कारोबार रोक्का गरेको हो । ती २ म्युचुअल फण्डले गत वर्षको मुनाफाबाट घोषणा गरेको लाभांशसम्बन्धी संस्थागत सूचना कारोबार समयमा घोषणा गरेका हुनाले धितोपत्र सूचीकरण विनियमावली,२०७५ अन्तर्गत रोक्का गरिएको नेप्सेले जनाएको छ ।

धितोपत्र सूचीकरण गराउने संगठित संस्था र नेप्सेबीच हुने सूचीकरण सम्झौताको ढाँचामा नै शर्तहरुका विषयमा प्रष्ट पारेको छ । संगठित संस्थाले लाभांश, बोनस, वा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेमा कुन मिति सम्म कायम रहेको शेयरधनीले त्यस्तो लाभांश, बोनस, वा हकप्रद शेयर पाउने हो सो सम्बन्धी जानकारी त्यस्तो निर्णय हुने बित्तिकै वा भोलिपल्ट कारोबार शुरु हुनु अघि नेप्सेलाई दिनुपर्ने उल्लेख छ । 

संगठित संस्थाहरुले नेप्सेमा सूचीकृत भई मूल्य संवदेनशीलतालाई लत्याइएको यो नै पहिलो घटना भने होइन । नेप्से नेतृत्व र नियमन विभागको लाचारीपनको फाइदा बेलाबेलामा सूचीकृत संस्थाहरुले उठाउँदै आइरहेका छन् । नियमित कारोबार समयमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले लाभांश घोषणासम्बन्धी सूचनाले बजार प्रभावित पार्दासमेत बजार सञ्चालक नेप्सेले कारोबार रोक्काको नाटक मञ्चन गर्ने तर कुनै कार्वाही प्रक्रिया अघि नबढाउँदा शेयर बजार प्राकृतिक बन्न नसकेको चौतर्फी आलोचन हुनेगर्दछ । अब नबिल इन्भेष्टमेन्टलाई समेत पहिलो पटक भन्दै सचेत गराइएको पत्र थमाउँदै भोलि वा पर्सि नै कारोबार सुचारु भएको नेप्सेद्वारा जारी सूचना आउने हो वा गतिलो कार्वाही गरी दण्डित गर्ने प्रतीक्षाको विषय बनेको छ । 

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले संचालन गरेका २ वटा सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेका छन् । नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ ले लाभांश घोषणा गरेका हुन् । 

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको थियो ।नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७८–७९ को लागि योजनाको ईकाइधनीहरुलाई ५ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ६ करोड २५ लाख रुपैयाँ मात्र प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।यसैगरी नबिल म्युचअल फण्ड अन्तर्गतको योजना नबिल व्यालेन्स्ड फण्ड २ ले आर्थिक वर्ष २०७८–७९ को लागि योजनाको ईकाइधनीहरुलाई ७ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु.७ करोड ८४ लाख रुपैयाँ मात्र प्रतिफल वितरण गर्ने निर्णय गरेको  छ।

लाभांश वितरण प्रयोजनको लागि दुवै योजनाले  कार्तिक १८ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णयसमेत गरेका छन्। कार्तिक १७ गतेसम्म कायाम इकाईधनीले मात्र उक्त लाभांश पाउने बताइएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।