बजारको तलतिरको यात्रामा पूर्णविराम !

पिताम्बर गौतम २०७९-०७-११ ०१:०८:०० बजे

काठमाण्डौ।१९ अगस्ट २०२१ मा ३२२७.११ को टप लगाएको बजारको आोरालो यात्रा हालका दिनसम्म कायम देखिन्छ । हाल केही दिनको कारोबार हेर्ने हो बजारको तलतिरको यात्रामा पूर्णविराम लाग्न थालेको हो कि भन्ने छनक भेटिन थालेको छ । 

शेयर बजारका विश्लेषकहरु मध्ये केही यो शेयर किन्ने सही बेला हो भनी रहेका छन भने केहीले बजार अझ झर्ने अनुमान गरेका समाचारहरु आइरहेका छन् ।भनिन्छ, शेयर बजारमा इतिहास दोहोरिन्छ । प्राविधिक विश्लेषण मुलतः ऐतिहासिक डाटामै आधारित हुन्छन । यस अघिको वियर फेजमा बजारले १०९८ को लो लगाइरहेका बेला बजारको सेन्टिमेन्ट र हाल १८०६ को लो लगाउँदाको बजारको सेन्टिमेन्टलाई मुलतः वियर बजारका विशेषताका आधारमा विश्लेषण गरी बजारको वर्तमान अवस्थालाई यो लेखमा हेर्ने कोशिस गरिएको छ । 

१‍‍. टर्नओभरः २८ जुलाइ २०१६ मा १८८८ को टप लगाएको बजारमा २ अर्ब १० करोडको कारोबार भएको देखिन्छ भने १०९८ को लो लाग्दा बजारमा जम्मा २१ करोडको कारोबार भएको देखिन आउँछ । अर्थात सो समयमा टप लाग्दाको बजारको लगभग १० प्रतिशत हाराहारीमा मात्र बटममा कारोबार भएको देखिन्छ । ३,२२७ को टप लाग्दा भने बजारमा लगभग २० अर्बको हाराहारीमा कारोबार भएको थियो । वर्तमान करेक्सनको तल्लो विन्दू १८०६ टच हुँदा बजारमा टप लाग्दाको लगभग ५ प्रतिशतको हाराहरी अर्थात १ अर्बको कारोबार रेकर्ड भएको देखिन्छ । 

अघिल्लो वियरको लो लाग्नु अघि कारोबार रकम कम हुँदै लगभग ३ करोडसम्म पुगेको देखिन्छ भने हाल लगभग ५० करोडको हाराहारीमा मात्र कारोबार भएको छ । प्रतिशतका आधारमा हेर्ने हो भने वर्तमान वजारको कारोवार रकम अघिल्लो वियर बजारको कारोबार रकम भन्दा कम हुन आउँछ । यसरी टर्नओभरको आधारमा हेर्ने हो भने हामी लगभग लगभग बटम तिरै छौं कि भन्ने अनुमानलाई बल पुग्छ । 

२. ब्याजदर : नेपालको शेयर बजारलाइ प्रभावित बनाउने अर्को प्रमुख तत्व व्याजदर पनि भएको देखिएको छ । हुनतः ब्याजदर शेयर बजारको यसरी सोझो सम्बन्ध नहुनु पर्ने हो तर ब्याजदरमा हुने वृद्धिले लगानीकर्ताको मनोबल कमजोर बनाउने प्रष्ट देखिएको छ । बजार अघिल्लो समयको बटममा हुँदा नेपालमा एफडीको ब्याजदर लगभग १३ प्रतिशतको हाराहारीमा थियो भने अहिले वर्तमान समयमा पनि सोही हाराहारीमा छ अर्थात ब्याजदरका हिसाबले पनि हामी लगभग उस्तै अवस्थामा रहेका रहेछौं भन्न सकिन्छ ।

३. लगानीकर्ताको मनोबलः भनिन्छ, जव चिया पसलमा समेत शेयर बजारको चर्चा हुन थाल्छ तब शेयर बेचेर निस्कनु पर्छ अर्थात बुल बजारमा जताततै शेयर बजारको चर्चा हुन्छ र बृहत सहभागिता पनि उच्च हुन्छ । तर वियर बजारमा अधिकांश लगानीकर्ता शेयरको बारेमा सुन्नै चाहंदैनन । अहिलेको समय हेर्ने हो भने हामी यही अवस्थामा रहेको देखिन्छ । अघिल्लो वियरको बटमतिर हुँदा बजार ९०० सम्म आउने हल्ला ब्यापक थियो भने अहिले बजार १६०० आउने हल्ला व्यापक छ अर्थात आमलगानीकर्तामा बजार अझ तल झर्न सक्ने अनुमान व्यापक हुन्छ र लगानीकर्ता तल्लो विन्दु कुर्न थाल्छन । अहिले पनि अघिल्लो वियरको बटमकै जस्तो अवस्था बजारमा रहेको देखिएकै छ ।

४. लगानीयोग्य रकमः लगानीयोग्य रकमको अभाव हरेक वियर बजारको साझा विशेषता हो । बुल बजारमा हामीसँग नगद रकम पर्याप्त हुन्छ भने वियर बजारमा नगदको बदलामा शेयर हुन्छ । घाटा कम गर्नका लागि गरिने एभरेजिङ होस या बजार बटम लागिसकेको अनुमानका आधारमा हुने लगानी, लगानीकर्तासँग भएको रकम सिद्ध्याउनका लागि पर्याप्त हुन्छन । लगानीकर्तासँग लगानीका लागि रकमको अभाव हुनु तथा बजारप्रति लगानीकर्ताको मनोबल कमजोर हुनुले गर्दा यो अवस्थमा बृहत सहभागिता निक्कै नै कम हुन्छ । बजारको टर्नओभर यसरी कम हुनु भनेको बृहत सहभागिता नभएका कारण नै हो । 

५. नीति निर्माताहरुको व्यवहारः नेपाली शेयर बजारको बुल र वियर फेजमा नीति निर्माताहरुको व्यवहार ठ्याक्कै उल्टो भएको देखिन्छ । बुल बजारमा बजारलाइ कसरी नियन्त्रण गर्ने भन्ने सोचमा नीति निर्माताहरुले विभिन्न खालका नियमहरु ल्याउँछन भने वियर फेजको अन्ततिर पुग्दा बजार सुधारका विभिन्न प्रयास हरु हुन्छन । अघिल्लो वियरको समयमा पनि बजार सुधारका लागि विभिन्न कामहरु भएका थिए जसमध्ये अनलाइन ट्रेडिङ एउटा प्रमुख सुधारको काम हो । अहिलेको समयमा पनि बजारको सुधारका लागि थुप्रै नीतिगत कामहरु भइसकेका छन् भने कति हुने चरणमा देखिन्छन । नीति निर्माताहरुको व्यवहारका आधारमा हेर्ने हो भने पनि अघिल्लो वियरको बटम र हालको अवस्थामा तात्विक फरक देखिंदैन ।

यी लगायत वियर बजारका थुप्रै अरु विशेषताहरु छन् जसका आधारमा वर्तमान अवस्थाको नेपाली शेयर बजारलाइ तुलना गर्ने हो भने अघिल्लो वियर फेजको बटम र हालको अवस्थामा थुप्रै समानता हरु पाउन सकिन्छ । यस्तो बजारमा गरिने चलाखीपूर्ण योजनावद्ध लगानी निर्णयले भविष्यमा दिने प्रतिफल उच्च हुने सम्भावना अधिक हुने गर्छ । बजारमा हुने हल्लाहरु भन्दा उपलब्ध यस्ता ऐतिहासिक आंकडाहरुका विष्लेषणका आधारमा लगानी गर्ने बानीको विकास गर्ने हो भने पक्कै पनि शेयर बजारमा जोखिमका तुलनामा प्रतिफलकै मात्रा धेरै हुने निश्चित छ ।

नोटः यो कुनै खरिद बिक्रीको सल्लाह होइन । शेयर बजारमा हुने जोखिम तथा प्रतिफलको आंकलनका आधारमा आफ्नो लगानी निर्णय गर्नु पर्ने हुन्छ । यहाँ उपलव्ध ऐतिहासिक तथ्यका आधारमा बजारलाइ हेर्ने कोशिश मात्र गरिएको हो ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।