तीन महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन

अर्थबिट २०७९-०७-१५ १५:०२:०० बजे

काठमाण्डौ।तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति गरेर आजै काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालगायत अन्य देशबाट आपूर्ति गरिएको छ । हाल १४ हजार म्याट्रिक टन कोइला आपूर्ति भइरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिनुभयो ।

उद्योगमा केही महिनादेखि आर्थिक अभावको कारणबाट समयभित्रै कोइला आपूर्ति गर्न कठिनाइ भएको थियो । हाल वैकल्पिक उपायको अवलम्बन गरी सिमेन्टको पुनः उत्पादन सुरु गरिएको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले राससलाई बताउनुभयो । उहाँका अनुसार उद्योगले तीन महिनासम्म उत्पादन बन्द गर्नुपर्दा निकै क्षति व्यहोर्नुपरेको र वैकल्पिक आर्थिक कारोबारको लागि उपाय अवलम्बन गरेर मात्रै उद्योग सञ्चालनमा ल्याउन सहज भएको छ ।

उद्योगका उपकरणको मर्मतसम्हारको लागि दुई हप्ता उत्पादन बन्द गरिएको भए पनि कोइलाको अभावले गर्दा साउनको दोस्रो हप्तादेखि सिमेन्ट उत्पादन कार्य बन्द गर्न बाध्यता भएको उद्योग व्यवस्थापनले जनाएको छ । सो उद्योगबाट दैनिक १० देखि १४ हजार बोरा गुणस्तरीय सिमेन्ट उत्पादन हुँदै आएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।