धरान।देशभर चुनावी माहोल तातिरहेको छ तर अर्थतन्त्र दिनानुदिन चिसिँदै गइरहेको छ । उद्योगी तथा व्यवसायीहरु ब्याजदर वृद्धि लगायतका विविध कारणले उद्योग व्यवसायको लागत बढेको भन्दै सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउनका लागि माइतीघर मण्डलामा प्रदर्शनरत छन् । तरलता संकुचन र अर्थतन्त्र नै धराशयी बन्दै जाँदा कतिपय व्यापार व्यवसाय बन्द हुन थालेका छन् ।
बैंकको ब्याजदर वृद्धि उद्योगी व्यवसायीले खप्नै नसक्ने अवस्था आयो भन्दै देशभरका उद्योग वाणिज्य संघहरु समेत खुलेरै आन्दोलित हुन शुरु गरेका छन् । तर सुनसरी उद्योग वाणिज्य संघको कदम भने ठ्याक्कै विपरीत रहेको छ । अर्थतनन्त्रको घडी उल्टो घुमिरहेको र कठिन मोडमा रहेको अवस्थामा सुनसरीका उद्योगी व्यवसायीहरु भने सम्भावनाका मार्गचित्र कोर्न तल्लीन र जुर्मुराएका भेटिन्छन् ।
शनिबार सुनसरी उद्योग वाणिज्य संघको प्रधान कार्यालयमा आयोजना भएको लगानीकर्ता सम्मेलनमा आन्दोलनका कार्यक्रम नभई उद्योग व्यवसायको विकास तथा विस्तारका लागि घोत्लिरहेका र चिन्तनमा डुबेका थिए । उसो त सुनसरी उद्योग वाणिज्य संघले गत भदौमा पनि यस्तै किसिमको कार्यक्रम आयोजना भइसकेको छ । ४ चरणमा विभाजित यो विशेष अभियान २ वटा निकट भविष्यमै आयोजना हुने बताइएको छ । अन्तिम चरणमा भने देशभरका लगानीकर्ताहरुलाई एकै स्थानमा भेला गरी लगानी प्रतिबद्धतासहितको कार्यक्रम सुनसरी उद्योग वाणिज्य संघले गर्ने बताइएको छ । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले कमान सम्हालेपछि सुनसरीमा उद्योग व्यवसायको विकास तथा विस्तारका लागि लगनशील रुपमा सक्रियता जनाइरहेका छन् जुन यसअघिका नेतृत्वले गर्न सकिरहेका थिएनन् ।
सुनसरी उद्योग वाणिज्य संघले शनिबार धरानमा प्रदेश नं.१ र धरान उपमहानगरपालिकासँगको सहकार्यमा ‘सुनसरी : समृद्धिका लागि प्रयास लगानीकर्ताहरुसँग अन्तत्र्रिmया कार्यक्रम आयोजना गर्दै जिल्लामा थप उद्योग व्यवसायको विकास तथा विस्तारका लागि बृहत अभियान थालेको छ । स्थानीय निकाय धरान उपमहानगरपालिकाले समेत औद्योगिक ग्राम स्थापना गर्ने मास्टर प्लान सोही कार्यक्रममा जानकारी दिइएको थियो । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रका संयोजकसमेत रहेका अरुणराज सुमार्गीले कृषि तथा सेवा, पर्यटनलगायतका विषयमा प्रकाश पारेका थिए ।
सोही कार्यक्रममा वि.सं.२०३० सालमा स्थापित धरान औद्योगिक क्षेत्रका व्यवस्थापक रमेश नेपालले रेडियो नेपालको १९ बिघा जग्गालाई औद्यागिक विस्तारका लागि दिइनुपर्नेमा जोड दिए । उद्योगधन्धाको विस्तार गर्दै थप ६० वटा लगानी विविधिकरणसहितको उद्योग विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।
उक्त कार्यक्रममा उद्योगी व्यवसायीहरुले स्थानीय निकायको अग्रसरतामा आवश्यक यथेष्ट पूर्वाधार,कर र प्रोत्साहनमा जोड दिइनुपर्ने जिकिर गरे ।
लगानीकर्ता सम्मेलन कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्रबिक्रम बेघा रहेका थिए भने दुहवी उद्योग वाणिज्य संघका उपाध्यक्ष रामकुमार पाठक,घरेलु तथा साना उद्योग कार्यालय इटहरीका प्रमुख राजन पाण्डे,जितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद शर्मा,इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेल,एफएनसीसीका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसचिव चन्द्र घिमिरे,इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष बीरेन्द्र शाह र धरान औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख रमेश नेपाल,मितेरी डेभलपमेन्ट बैंकका सीइओ तुलसीप्रसाद वस्ती,प्रतिष्ठित उद्योगीव्यवसायी लगायतको उपस्थिति रहेको थियो ।
