काठमाण्डौ।सिक्लेस हाइड्रोपावर लिमिटेडको लगातार २ दिनदेखि पोजिटिभ सर्किटमा कारोबार भएको छ । धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयरमूल्य २ दिनमै २० प्रतिशतले बृद्धि भएको हो ।
गत सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा ८५ लाख कित्ता शेयर सूचीकृत भएको सिक्लेस हाइड्रोपावर लिमिटेडको बुधबार र बिहीबार दुवै दिन पोजिटिभ सर्किट लागेको हो ।
रोचक कुरा चाहिँ नेप्सेमा सोमबार नै सूचीकृत भई मंगलबार अधिकतम सीमा रु.३५० मा नै शेयर कारोबार खुलेपछि सिक्लेस हाइड्रोपावरमा ९ प्रतिशतसम्म गिरावट आएको थियो तर बुधबार र बिहीबार भने कम्पनीको शेयरमूल्य पोजिटिभ सर्किट लागेसँगै २० प्रतिशत मूल्य बढिसकेको छ ।
गत मंगलबार सिक्लेस हाइड्रोपावरको कारोबार हुँदा प्रतिकित्ता रु.३१५ सम्म आइपुगेको थियो जुन सुरुवाती मूल्यमा भएको गिरावट ९ प्रतिशत बढी हो। सोही दिन कम्पनीको अन्तिम कारोबार मूल्य रु.३२१ प्रतिकित्ता कायम भएको थियो ।
अर्को दिन हिजो बुधबार भने सिक्लेसको प्रतिकित्ता रु.३२७ मा कारोबार खुलेपछि १० प्रतिशत बढेर पोजिटिभ सर्किट लाग्यो । हिजो कम्पनीको शेयरमूल्य रु.३५३.१० अन्तिम कारोबार मूल्य कायम भएको थियो ।
आज बिहीबार पनि सिक्लेस हाइड्रोपावरमा पोजिटिभ सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य रु.३५ बढेर प्रतिकित्ता रु.३८८.४० कायम भएको आज खरिदतर्फ साढे १९ हजार हाराहारी कित्ता छ भने कम्पनीको शेयर बिक्री गर्न कोही पनि इच्छुक नभएको देखिन्छ । कम्पनीको ३ हजार १५० कित्ता १२ लाख २१ हजार ६६० रुपैयाँको कारोबार सम्पन्न भएको छ ।