२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई रु १० हजार

अर्थबिट २०७९-०८-२० १४:२६:०० बजे

कालिकोट।कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ ।  वडाले बालविवाह न्यूनीकरण गर्न  यस्तो निर्णय गरेको जनाइएको छ ।

बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताउनुभयो । “बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरुस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको छ”, उहाँले भन्नुभयो, “उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी रहेको छ ।”

दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु १० हजार नगद दिने निर्णय वडाले गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले जानकारी दिनुभयो । “हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले बालविवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ ।”

विशेषगरी विद्यालयस्तरमा र बालविवाहबारे चेतना जगाउने खालका कार्यक्रमलाई विशेषरूपमा नगरपालिकाले अगाडि बढाएको नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले बताउनुभयो । “अहिले उमेर पुगेपछि विवाह गर्ने किशोरीलाई एउटा वडामा मात्रै पुरस्कार दिने निर्णय गरेका छौँ ।” उहाँले भन्नुभयो, “आगामी दिनमा नगरपालिका सबै वडामा यो कार्यक्रम लागू गर्ने योजना रहेको छ ।”

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।