पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु

अर्थबिट २०७९-०८-२६ ०७:५०:०० बजे

काठमाण्डौ।राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो ।

परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेलभित्र यत्रतत्र छरिएर रहेका तारका कारण ठमेलभित्रको सौन्दर्यमा असर परेकाले तार काट्न सुरु गरिएको जानकारी दिनुभयो । “चार दिनदेखि विभिन्न इन्टरनेट प्रदायक कम्पनीसँगको सहकार्यमा ठमेलभित्रको विद्युतका खम्बामा लत्रिएका र आवश्यकताभन्दा बढी रहेका तार काट्न सुरु गरेका हौँ”, उहाँले भन्नुभयो ।

ठमेल पर्यटन विकास परिषद्को बैठक बसेर तार काट्ने तथा व्यवस्थापन गर्ने काम सुरु गरिएको उहाँको भनाइ छ । परिषद्ले सातघुम्ती हुँदै सोह्रखुट्टे, क्वाःबहाल हुँदै ज्याठा, नरसिंह चोक हुँदै भगवती मार्गलगायतका क्षेत्रमा तार व्यवस्थापन कार्य सुरु गरेको परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिनुभयो ।

नेपाल भ्रमणका लागि आउने ८० प्रतिशत व्यक्ति ठमेल घुम्न आउने गरेका छन् । ठमेल काठमाडौँ महानगरपालिकाको वडा नं १६, १७, २६ र २९ वडाभित्र पर्दछ । ठमेल पर्यटन परिषद्भित्र दुई हजार दुई सय व्यवसायी तथा घरधनी आबद्ध हुनुहुन्छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।