सबै सामुदायिक विद्यालयमा यसै शैक्षिक सत्रदेखि संस्कृत शिक्षा लागू

अर्थबिट २०७९-०८-२६ १४:३४:०० बजे

जलेश्वर।महोत्तरीको मनरासिस्वा नगरपालिकाले संस्कार र संस्कृति रक्षाका लागि भन्दै आफ्नो पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा संस्कृत शिक्षा लागू गरेको छ । 

नगर प्रमुख मोहन पाण्डेले आधुनिकताको नाउँमा पश्चिमा सभ्यता र शैली हाबी हुँदै गएकाले आफ्नो नगरभित्रका सबै सामुदायिक विद्यालयमा यसै शैक्षिक सत्रदेखि संस्कृत शिक्षा लागू गरेको बताउनुभयो । 

नगरभित्र माध्यमिक तथा आधारभूत विद्यालय गरी जम्मा २३ सामुदायिक विद्यालय रहेकामा प्रत्येक विद्यालयमा चालु शैक्षिक सत्रदेखि नै संस्कृत शिक्षा लागू गरिएको प्रमुख पाण्डेले बताउनुभयो । उहाँले २३ वटै विद्यालयका कक्षा एक देखि आठ सम्मका सम्पूर्ण विद्यार्थीले अनिवार्य रुपमा संस्कृत शिक्षा हासिल गर्नुपर्ने गरी प्रत्येक विद्यालयमा संस्कृत शिक्षा लागू गरिएको जानकारी दिनुभयो ।

प्रमुख पाण्डेले नगरभित्रका विद्यालयमा संस्कृत शिक्षा प्रदान गर्न यस विषयका २३ जना शिक्षक नियुक्त गरिएको र उहाँहरुले नियमित रुपमा सबै विद्यालयमा संस्कृत विषयको पठनपाठन गराइराख्नुभएको बताउनुभयो । यस पालिकामा सुरु गरिएको संस्कृत विषयको पठनपाठनबाट आगामी दिनमा यस विषयका जनशक्ति उत्पादन हुने पनि प्रमुख पाण्डेले विश्वास व्यक्त गर्नुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।