इटहरी। सडक मानव तथा मानसिक समस्या भएका व्यक्तिहरुको उद्दार तथा संरक्षण गर्दै आएको गैरसरकारी सामाजिक विकास संस्था ‘माया घर नेपाल’इटहरीले बिहीबार पाँचौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
‘माया घर नेपाल’ स्थापनाकालदेखि नै मानवीय सेवालाइ अगाडि बढाउँदै आएको र सरकारी निकायबाट गर्नुपर्ने सडक मानव व्यवस्थापनदेखि पुनःस्थापनासम्मको कार्यहरु गर्दै आएको उक्त संस्थाकी अध्यक्ष राधिका दासी(माताजी)ले जानकारी दिइन्।
उक्त सस्थामा आश्रितहरुको व्यवस्थापनमा दैनिक रुपमा उपभोग गर्ने वस्तुहरुदेखि लिएर आर्थिक समस्या समाधानका लागि कुनै दिगो श्रोत नभएको कारण ‘माया घर नेपाल’ निरन्तर सेवा भावले नै सञ्चालन भइरहेको संस्थाकी अध्यक्ष दासीले बताइन् ।
संस्था स्थापना भएको छोटो समयमा नै आफ्नो पहिचान जिल्लामा मात्र नभई क्षेत्रीय र राष्ट्रियस्तरसम्म बनाउन सफल भएको र यस पहिचान आर्थिक हैसियतबाट मात्र नभई संस्थाले निर्वाह गरेको भूमिका र अंगीकार गर्ने सामाजिक परिचालनको प्रक्रिया हो भन्ने उनको जिकिर रहेको छ।
‘माया घर नेपाल’ले संस्थालाई दिगो व्यवस्थापन गर्नका लागि संस्थागत रुपमा आयोजना गरेका श्रीमद्भागवत ज्ञान महायज्ञबाट २१ लाख रुपैयाँ अक्षयकोष स्थापना गर्न सफल भएको छ ।
संस्थाको वार्षिक साधारण सभा कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश १ का प्रमुख पवन भट्टले मन्तव्य राख्दै भान्सादेखि लिएर सिंहदरबारसम्म आत्मसम्मान हुनुपर्ने जिकिर गरे । मान्छेले मान्छेप्रति गर्ने व्यवहारसमेत बिर्सिन थालेको उनले दाबी गरे।समाजमा रहेर आफ्नो अधिकारको प्रयोग गरिरहँदा अरुको अधिकारको हनन गर्न नहुने उनको भनाइ छ । भट्टले माया घर नेपाल इटहरीको भवन अवलोकन गर्नुका साथै आवश्यक सहयोग गर्न आफू र आफ्नो संस्था सदैव तयार रहेको उनले बताए ।