शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश

अर्थबिट २०७९-०९-०६ १३:३४:०० बजे

काठमाण्डौ।सर्वोच्च अदालतले बिकिनी किलर चाल्र्स शोभराज (गुरुमुख) लाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज निजलाई आजै कैदमुक्त गरी १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको हो । “अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए निजलाई आजै कैदबाट छाडी दिन तथा यो आदेश भएको १५ दिनभित्र देश फर्काउन आवश्यक व्यवस्थासमेत गर्न यो आदेश जारी गरिएको छ”, सर्वोच्चको आदेशमा भनिएको छ, “सम्बन्धित जिल्ला अदालतमार्फत कारागार कार्यालय जगन्नाथ देवल काठमाडौँमा छिटो साधनद्वारा आदेशको जानकारी पठाइदिनु ।”

शोभराजको तर्फबाट अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा अदालतले निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड, संविधान तथा कानूनप्रदत्त अधिकार अनुकूल नदेखिएको व्याख्या गरेको छ ।

आदेशमा शोभराजको उमेर ७५ वर्ष भइसकेको तथा मुटुसम्बन्धी रोगबाट पीडित भई उपचारको अवस्थामा रहेको तथा तोकिएको कैदमध्ये ७५ प्रतिशत (१९ वर्ष) कैद सजाय भोगिसकेको देखिएको उल्लेख छ । फ्रान्सेली नागरिक शोभराजलाई सन् २००३ मा कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरी जिल्ला अदालत भक्तपुरले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।