काठमाण्डौमा यस वर्षकै चिसो दिन

अर्थबिट २०७९-०९-१० १७:४५:०० बजे

काठमाण्डौ।काठमाण्डौमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

शनिबार काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयतादेखि काठमाण्डौसहित देशभरकै तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ । पुस लागेसँगै देशभर चिसो बढेको छ ।

यसैगरी आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ भने जोमसोमको माइनस ६ दशमलव १ र जिरीको माइनस शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । 

नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । यही प्रभावका कारण आज पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद् भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज सुदूपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बदली हुने अनुमान गरिएको छ । 

काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा भने मौसम आंशिक मात्रै बदली हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार शनिबार कास्की, खोटाङ र म्यादीका केही ठाउँमा पानी परेको थियो । कास्कीको माछापुच्छ्रे बेस क्याम्पमा गरिएको मापनअनुसार त्यहाँ ३ दशमलव ६ मिलिमिटर, म्यादीको घोरेपानीमा १ दशमलव ५ मिलिमिटर र खोटाङको दूधकोकोसीमा २ मिलिमिटर पानी परेको मापन गरिएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।