बैंकिङ कसुरका चार दोषी पक्राउपछि अदालतमा पेस

अर्थबिट २०७९-०९-११ १३:४२:०० बजे

काठमाण्डौ।बैंकिङ कसुरमा दोषी ठहर भई कैद र लाखौँ जरिवाना तोकिएर फरार रहेका चार व्यक्तिलाई प्रहरीले विभिन्न क्षेत्रबाट पक्राउ गरी अदालतमा पेस गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उक्त मुद्दाका दोषी मकवानपुको हेटौँडा उपमहानगरपालिका–३ बस्ने ४८ वर्षीय राजन बर्तौला, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–६ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने ३८ वर्षीय विकास ज्योति, भक्तपुर सूर्यव नगरपालिका–१० बस्ने ३५ वर्षीय रामसुन्दर कार्की र गोरखा बारपाक सुलिकोट गाउँपालिका–६ घर भई भरतपुर चितवन बस्ने ५० वर्षीय नवराज पनेरुलाई पक्राउ गरेको हो ।

उनीहरुमध्ये राजन र नवराजलाई भरतपुर चितवनबाट, विकासलाई ललितपुर लगनखेलबाट र राम सुन्दरलाई काठमाडौँको जोरपाटीबाट पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो । उनीहरूमध्ये बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले राजनलाई १२ दिन कैद र रु ३४ लाख ९० हजार जरिवाना, विकासलाई १५ दिन कैद र रु ४२ लाख जरिवाना, राम सुन्दरलाई चार दिन कैद र रु १५ लाख ९२ हजार जरिवाना र नवराजलाई १० दिन कैद तथा रु २९ लाख जरिवाना हुने फैसला सुनाएको थियो । 

लागूऔषधसहित पक्राउ

चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन चार ग्राम पाँच मिलिग्रामसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानरगपालिका–१७ घर भएका २४ वर्षीय सिद्धार्थ चौधरी र सोही ठाउँ घर भएका २४ वर्षीय दिनेश चौधरी रहेका छन् ।

झापादेखि काठमाडौँ आउँदै गरेको बागमती प्र ०३–००१ ख १६०१ नंको बसलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी बसमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।