‘अफ्रिकन स्वाइन फिवर’बाट बङ्गुर मर्न थाले

अर्थबिट २०७९-०९-११ १४:१२:०० बजे

म्याग्दी।म्याग्दीमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमणका कारण बङ्गुर मर्न थालेका छन् । अन्नपूर्ण गाउँपालिका–२ नौलीबगरमा मरेका बङ्गुरको प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिवर भित्रिएको पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, म्याग्दीले जनाएको छ । 

केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले म्याग्दीका केही फार्ममा लिइएको नमूनामा अफ्रिकन स्वाइन फिवर पुष्टि भएको जानकारी दिनुभयो । “रोग नियन्त्रणमा नआएसम्म बङ्गुर ओसारपसार गर्न रोकिएको छ,” उहाँले भन्नुभयो “कृषकहरूलाई सावधानी अपनाउन आग्रहका साथै नियन्त्रणका लागि पशु चिकित्सक र प्राविधिक परिचालन गरिएको छ ।” 

रोगबाट मरेका बङ्गुरलाई व्यवस्थित तरिकाले जमिनमा गाड्नुका साथै फैलिन नदिन जैविक सुरक्षा अपनाइएको केन्द्रले जनाएको छ । नौलीबगरको फार्ममा ३० भन्दा बढी बङ्गुर मरेका अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जीसीले बताउनुभयो । मरेका र बिरामी बङ्गुरमा ज्वरो बढी आउने, बान्ता गर्ने, झोक्राउने र शरीरमा नीलो डाम देखिने लक्षण देखिएको छ । 

बेनी नगरपालिकाको पशु सेवा प्राविधिक प्रदीप गौतमका अनुसार मङ्गलाघाटको बङ्गुर फार्ममा पनि २३ वटा बङ्गुर मरिसकेका छन् । व्यावसायिकरूपमा पालिएका बङ्गुर फार्ममा रोग देखिएपछि सतर्कता अपनाइएको छ । 

पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । विभागका अनुसार यो रोग पशुबाट मानिसमा भने सर्दैन । सन् २०१८ मा छिमेकी भारत, चीन र भूटानमा देखिएको यो रोग नेपालमा गत वर्षको चैतमा काठमाडौँमा देखिएको थियो । गण्डकी प्रदेशको पोखरा, स्याङ्जा र नवलपुरमा केही दिनअघि अफ्रिकन स्वाइन फिवर देखा परेको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।