देशभरकै तापक्रम क्रमिकरूपमा घट्दै, चिसो धेरै बढ्यो

अर्थबिट २०७९-०९-१३ १३:५१:०० बजे

काठमाण्डौ।विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरले जनाएको छ । 

विभागका अनुासर आज काठमाण्डौको न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । मङ्गलबारभन्दा आज चिसो धेरै बढेको बताइएको छ । मङ्गलबार काठमाण्डौको तापक्रम चार दशमलव चार डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार वीरेन्द्रनगरको न्यूनतम तापक्रम तीन दशमलव एक डिग्री सेल्सियस, ताप्लेजुङको तीन दशमलव पाँच, लुम्लेको चार, डडेल्धुराको चार दशमलव चार डिग्री सेल्सियस, जिरीको न्यूनतम तापक्रम माइनस एक दशमलव आठ, जोमसोमको माइनस पाँच र जुम्लाको माइनस छ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । न्यूनतमसँगै देशभरकै अधिकतम तापक्रम पनि घट्न थालेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरका अनुसार अहिले पहाडीसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । पहाडी क्षेत्रको कुहिरो हटेर घाम लाग्ने सम्भावना रहे पनि तराईका जिल्लामा भने दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको छ । हिउँदयामको मध्यतिर आइपुगेकाले पनि जाडो बढेको मौसमविद्ले बताएका छन् । डिसेम्बर, जनवरी  र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । डिसेम्बर महिना सकिएर जनवरी सुरु हुन लागेको छ । आज प्रदेश १ को पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने र बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।