क्रिप्टो कारोबार हुने वेवसाइट र एप्लिकेसन बन्द गर्न निर्देशन

अर्थबिट २०७९-०९-२५ ०८:२३:०० बजे

काठमाण्डौ। क्रिप्टो कारोबार, हाइपर नेटवर्किङ र अनलाइन जुवा (बेटिङ)सँग सम्बन्धित वेवसाइट तथा एप्लिकेसनहरू बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

 नेपालको मौजुदा कानूनी व्यवस्थाले क्रिप्टो कारोबार, नेटवर्किङ र अनलाइन जुवालाई अवैध मानेको छ । तर, यस्ता वेवसाइट र एप्लिकेसन भने निर्वाध चलिरहेका छन् । सरकारले यसअघि नै अनलाइन प्रविधिमार्फत् हुने क्रिप्टो करेन्सी कारोबार, हाइपर नेटवर्किङ्ग, अनलाइन जुवालगायत गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेवसाइट, एप्लिकेसन र अनलाइन सञ्जाललाई बन्द गर्न निर्देशन दिए पनि इन्टरनेट सेवा प्रदायकहरूले अटेरी गरेपछि फेरी निर्देशन दिनु परेको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

 यस्ता वेवसाइट र एप्लिकेसन बन्द गर्नका लागि सेवा प्रदायकहरूलाई दोस्रोपटक निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताउनुभयो । “अर्थ मन्त्रालयबाट परिपत्र भए बमोजिम हामीले करिब एक वर्षअघि इन्टरनेट सेवा प्रदायकहरूलाई यस्ता साइट बन्द गर्न निर्देशन दिएका थियौँ । तर उक्त निर्देशनको प्रभावकारी पालना भएको नदेखिएपछि अहिले फेरी निर्देशन दिइएको हो ।”, पौडेलले भन्नुभयो । यो निर्देशन पालना नगर्ने सेवा प्रदायकहरूलाई कारबाही गरिने पनि प्राधिकरणले जनाएको छ ।

दूरसञ्चार प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विट क्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाइन जुवालगायतका विषयसँग सम्बन्धित वेवसाइट र एप्लिकेसन सञ्चालनमा रोक लगाउन भनेको छ । त्यस्तो वेवसाइट, एप्लिकेसन वा अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट (इमेल सहित) सेवा प्रदायक संस्थाहरुलाई दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको हो । यसअघि सरकारले अश्लील साइटहरु पनि बन्द गर्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।