पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय, शेयर लगानीकर्ता भने दुःखी

अर्थबिट २०७९-०९-२५ १४:५३:०० बजे

काठमाण्डौ।सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्ले आज दुई वटा निर्णय गरेको छ, एउटा पृथ्वी जयन्तीको अवसरमा पुस २७ मा सार्वजनिक बिदा दिने र अर्को सरकारको न्यूनतम कार्यक्रम मन्त्रिपरिषद्बाट पास गर्ने र कार्यान्वयन गर्ने निर्णय गरेको छ ।”

सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राख्दै आएको मागलाई सम्बोधन गर्दै सरकारले २७ पुसमा बिदा दिने निर्णय गरेको हो । आज सार्वजनिक गरिएको सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आजको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ।

बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहेको थियो । तर २०६२/६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरिसकेको राप्रपाले न्यूनतम् साझा कार्यक्रम, कम्तीमा तीन मन्त्रालय र पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसका रूपमा मनाउनुपर्ने माग गर्दै आएको थियो । 

केही दिनयता लगातार धितोपत्र बजार कारोबार मापक नेप्से परिसूचक उकालो लागिरहेको छ । शेयर बजारमा हरियाली छाइरहेको बेला लगानीकर्ताहरुमा पनि उत्साह र उमङ्ग छाएको छ ।सरकारले अचानक बीचैमा सार्वजनिक बिदा दिँदा भने केही खिन्न र केही ठट्यौली पारामा शेयर लगानीकर्ता राजु पोखरेल भन्छन्,“बजार बढ्दा त छुट्टी नि नराम्रो नलाग्ने ।” 

बजार बढिरहेका बेला सार्वजनिक बिदा हुनु दुःखद् भएको भोजराज खनाल बताउँछन् । उनी भन्छन्,“एक दिनको बढाई नहुने भो शेयर बजारमा।”

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।