अन्तरजातीय विवाह गर्नेलाई एक लाख दिइने

अर्थबिट २०७९-०९-३० १६:४५:०० बजे

मुगु।छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप रु एक लाख दिने भएको छ । नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई प्रोत्साहनस्वरूप रु एक लाख उपलब्ध गराउने भएको हो ।

दलित छुवाछूत अन्त्य र उनीहरूको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट बहुमतले पास भएकाले त्यसैअनुरूप काम गरिने नगरप्रमुख विष्णुकुमार भामले बताउनुभयो । उहाँले पालिकाभित्रका १ देखि १४ वडा सम्मका एक हजार तीन सय दलित घरधुरी रहेको जानकारी दिनुभयो ।  संस्कृति, बाजा र सीपमूलक आर्यआजनका लागि प्रति घरधुरी पहिलो चरणमा दुई हजार पाँच सयका दरले दलित भत्ता उपलब्ध गराइने उहाँले बताउनुभयो । सो भत्ता अन्तिम पाचँ वर्षको कार्यकालमा रु पाँच हजारसम्म पुर्याउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

विधेयक नगरसभाबाट विभिन्न १० वटा नीति, नियमावली, कार्यविधि र निर्देशिका बहुमतले पारित गरेको छ । बेरोजगारीको समस्याले चपेटामा परेका युवा कुलतमा फस्दै गइरहेकाले त्यसको रोकथामका लागि नगरस्तरीय सुधारगृह सञ्चालन कार्यविधि २०७९, अपाङ्गता भएका व्यक्तिको हक हितका लागि अपाङ्गता नियमावली २०७९, नगरपालिकास्तरमा नगरपालिकाले नगरबस सञ्चालनमा ल्याउने र नागरिकको हितका लागि अति आवश्यक भएकाले नगर बस सञ्चालन कार्यविधि २०७९, व्यावसायिक दर्ता तथा नवीकरण कार्यनिर्देशिका २०७९, महिला हेल्प डेस्क कार्यविधि, महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाई निर्देशिका नियमावली र विपत् जोखीम न्यूनीकरण नियमावली २०७९ सभाबाट पारित भएका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।