जहाज दुर्घटना: बेपत्ताको खोजी कार्य राति पनि गरिने

अर्थबिट २०७९-१०-०१ १३:३३:०० बजे

काठमाण्डौ।पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ ।   

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ( एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि  घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताउनुभयो । “खोजी कार्यको सुरक्षाकर्मीका तर्फबाट कुनै कमी हुन नदिनका लागि राति पनि सम्भव भएसम्म शवहरु खोजी गर्नेछौँ”, प्रमुख केसीले भन्नुभयो । 

दुर्घटनामा परी मृत्यु भएका ६८ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा परीक्षणका लागि लगिएको छ । “अब बेपत्ता चार जनाको पनि खोजीमा लागेका छौँ, राति नभेटिए सोमबार पनि खोजी कार्यलाई तीव्र पार्छौं”, उहाँले भन्नुभयो । 

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खोजीमा खटिएका छन् । नेपाली सेनाका मात्रै दुई सय बढी खटिएका छन् । प्रहरी र सशस्त्र प्रहरी पनि सयौँको सङ्ख्यामा खटिएका छन् । काठमाडौँबाट सशस्त्र प्रहरीको गोताखोरको टोली पोखरा आएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले राति पनि बत्ती जडान गरी खोजी गर्न लागिएको  जानकारी दिनुभयो । उहाँका अनुसार जहाजमा रहेका चारजना अझै बेपत्ता छन् । अहिलेसम्म ६८ जनाको शव फेला परेको छ । उनीहरुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ । “सबै जनाको शव आज नै  निकाल्न सकियोस् भनेर राति पनि खोजी गर्न लागिएको हो,” प्रजिअ केसीले भन्नुभयो । मृतकका परिवारलाई सोमबार शव बुझाउने तयारी रहेको पनि प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।