काठमाण्डौ।आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाण्डौ ल्याइने भएको छ ।
दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाण्डौ ल्याइने शवको हकमा काठमाण्डौमै पोस्टमार्टम गरिनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानका चालक दलका सदस्य तथा विदेशी नागरिक र काठमाण्डौ घर भएकाहरुको शव काठमाण्डौ ल्याइनेछ । उहाँका अनुसार शवको पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट तीन सदस्यीय विशेषज्ञ टोली पोखरा जादैछ ।
माघ १ गते आइतबार बिहान काठमाण्डौबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन-एनएसी’ ६९१ उडानको एटीआर-७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए ।
दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गोतखोरकोटोलीसहित विमानस्थको ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ टोलीले उद्धार जारी राखेको छ ।