पोखराबाट ४८ शव काठमाण्डौ ल्याइयो, भोलिदेखि शव परीक्षण सुरु गरिने

अर्थबिट २०७९-१०-०३ १४:०९:०० बजे

काठमाण्डौ।यही माघ १ गते आइतबार काठमाण्डौबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाण्डौ ल्याइएको छ ।

यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी पोखराको सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएर निधन भएकामध्ये ४८ जनाको शव आज काठमाण्डौ ल्याइएको बताएको हो । शव आज दिउँसो नेपाली सेनाको दुईवटा हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको हो ।

मृतक ४८ जनाको शव आज काठमाण्डौ ल्याइए पनि शवको परीक्षण भने भोलि बिहानदेखि सुरु गरिने भएको छ । शवलाई अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखिएको छ । मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम आज भएकाले परीक्षण सुरु गर्न नसकिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । मृतकमध्ये कतिपय व्यक्तिको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा शव पहिचान गरेर परीक्षणपश्चात् एकैपटक मृतकका परिवार तथा आफन्तलाई शव हस्तान्तरण गरिने बताइएको छ ।

चालकदलका सदस्यसहित जम्मा ७२ जना सवार उक्त विमान दुर्घटनामा  ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एक व्यक्तिको खोजीकार्य जारी रहेको यती एयरलाइन्सले जनाएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।