काठमाण्डौ।नेपाल सुनचाँदी व्यवसायी महासंघले राष्ट्रिय योजनामा सुनचाँदीका विषय समावेस गर्न आग्रह गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधि मण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिन बहादुर श्रेष्ठसँग भेटगरी सुनचाँदीका विषयलाई मुलुकको पञ्चवर्षीय योजनामा समावेस गर्न आग्रह गरेको हो ।
भेटका क्रममा आयोगका उपाध्यक्ष श्रेष्ठले नेपाल सुनचाँदी व्यवसायी महासंघले अगाडि सारेका सुनको उत्खनन, निकासी–पैठारी, ओसारपसार, कालिगढको व्यवस्थापन र तालिम लगायतका विषयलाई सम्वोधन गर्न आयोगले आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
त्यसक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सुनचाँदी व्यवसायमा परेको समस्या र तिनको समाधानका विषयमा आफ्नो धारणा राखे । उनले सुनको कारोबारमा क्रममा नीतिको अभाव भएको उल्लेख गर्दै यसतर्फ आवश्यक पहल गर्न समेत उपाध्यक्ष श्रेष्ठलाई आग्रह गरे । सुुनचाँदीको विषयलाई मुलुकको योजनामा समावेस गर्न सके यसवाट राज्य र व्यवसायी सबैलाई फाइदा हुने उनले बताए ।
भेटका क्रममा महासंघका तर्फवाट उपाध्यक्ष दियसरत्न शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य, सह कोषाध्यक्ष पद्मशुन्दर शाक्य लगायतको उपस्थिति थियो ।