ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार तीन सय १४ चालक कारबाहीमा

अर्थबिट २०७९-११-०९ १२:१५:०० बजे

काठमाण्डौ।ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार तीन सय ९४ चालकलाई पक्राउ गरी कारबाही गरेको छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा सिसिटिभीको सहायताले ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार तीन सय १४ चालकलाई पक्राउ गरी कारबाही गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले  सिसिटिभी कन्ट्रोल रुमले दिएको सूचनाका आधारमा तीन हजार दुई सय ९२ र ट्राफिक नियम उल्लङ्घन गरी फरार रहेका एक हजार २२ गरी चार हजार तीन सय १४ जनालाई पक्राउ गरी कारबाही गरिएको जानकारी दिनुभयो ।

कार्यालयका अनुसार साउनमा तीन सय ४१, भदौमा छ सय ८०, असोजमा चार सय ८२, कात्तिकमा तीन सय ६६, मङ्सिरमा छ सय ६२, पुसमा नौ सय २५, माघमा आठ सय १४ र फागुनमा ४४ चालकलाई कारबाही गरेको हो । ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याइएको र यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रवक्ता भट्टले बताउनुभयो ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेको सिसीटिभी कन्ट्रोल रुममा खटिएका ट्राफिक प्रहरीले दिएको स्थान, समय, सवारी साधनको नम्बर, किसिम र कसुरका आधारमा सडकमा खटिएका ट्राफिक प्रहरीले चालकलाई कारबाही गर्ने गरेका छन् । 

ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थापन र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कानुनको दायरामा ल्याउन विसं २०७४ बाट सिसीटिभी  र  विसं २०७५ बाट ‘सर्भिलेन्स भेहिकल’ द्वारा निगरानी गर्दै आएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।