किसानलाई जानकारी दिन जिओ कृषि एप, विज्ञहरूको सेवासमेत उपलब्ध हुने

अर्थबिट २०७९-११-०९ १०:२६:०० बजे

झापा।कनकाई नगरपालिकाले किसानलाई मोबाइल एपमार्फत कृषिसम्बन्धी जानकारी दिने उद्देश्यले डिजिटल मेसिन जडान गरेको छ । हेफर नेपालले नगरपालिकालाई सो डिजिटल मेसिन प्रदान गरेको हो । मेसिनको प्रयोगमार्फत किसानलाई पालिकाले डिजिटल प्रविधिमा जोडेको हो ।

स्थानीयस्तरमा रहेका किसानलाई कृषि सूचना प्रविधिमा पहुँच बढाइ कृषि उत्पादन र किसानको उत्पादकत्व बढाउने उद्देश्यका साथ कनकाई नगरपालिकालाई डिजिटल मेसिन प्रदान गरिएको हेफरका अध्यक्ष प्रेम गिरीले बताउनुभयो । 

कृषि सूचना तथा प्राविधिक परामर्श सेवासमेत प्रवाह गर्न सकिने गिरीले बताउनुभयो । किसानलाई मोबाइल एपमै विज्ञहरूको सेवासमेत उपलब्ध हुनेमा गिरीले जोड दिँदै उहाँले भन्नुभयो, “बाली रोपाइँदेखि कटाइसम्मका हरेक पक्षलाई एपमा समेटिएको छ । यसले किसानलाई कुन समयमा के बाली लगाउने र बजारको खोजी कसरी गर्ने भन्ने समस्याबाट मुक्त गराउन मद्दत पुग्नेछ ।”

जिओ कृषि एपमार्फत किसानले बढीभन्दा बढी फाइदा लिन सक्ने भएकाले नगरपालिकाले यसको सञ्चालन र व्यवस्थापनमा विशेष ध्यान दिने नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो । यो एप परीक्षणकै क्रममा नगरपालिका क्षेत्रका दुई सय ६५ जना किसान आवद्ध भइसकेको जानकारी दिनुभयो ।

जिओ कृषि एपमा कनकाई नगर क्षेत्रभित्र लगाइने बढीभन्दा बढी बालीनालीलाई प्राथमिकताका साथ स्थान दिइने उहाँको भनाइ छ । किसान खेतको प्रोफाइल र किसानको उत्पादन योजनाको डिजिटल रेकर्ड राखी सोही अनुरुप किसानले हरेक दिन वा हप्तामा गर्नुपर्ने गतिविधि तालिकाको सूचना, मलखादसम्बन्धी आवश्यक ज्ञान, खर्च लगानीको रेकर्डलगायत अन्य थुप्रै सेवा सुविधा यस मेसिनबाट किसानले प्राप्त गर्न सक्ने जियो कृषि परियोजनाका प्राविधिक रामनाथ तिवारीले जानकारी दिनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।