शिक्षकले पाएनन् पारिश्रमिक

अर्थबिट २०७९-११-१४ ०९:१०:०० बजे

गुल्मी।गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन् । आन्तरिक स्रोतमार्फत गाउँपालिकाले तलब उपलब्ध गराउनेगरी राखेका ३१ शिक्षकले कात्तिक महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् । गाउँपालिकाले आफै दरबन्दी सिर्जना गरी राखेका ती  शिक्षकलाई बजेट अभावका कारण तलब खुवाउन नसकिएको त्यहाँका शिक्षा शाखाका प्रमुख अग्निधर पराजुलीले जानकारी दिनुभयो । 

कात्तिकदेखि पुस महिनासम्मको तीन महिनाको तलब उपलब्ध गराउन रु ३९ लाख आवश्यक पर्ने तर बजेट अभावका कारण शिक्षकलाई तलब दिन नसकिएको उहाँको भनाइ थियो । तलव नपाउनेमा बालशिक्षा कक्षादेखि माध्यमिक तहसम्मका शिक्षक रहेको प्रमुख पराजुलीले बताउनुभयो ।

पालिकाको आन्तरिक स्रोत र कालीगण्डकी जलविद्युत् परियोजानको आर्थिक सहयोगमार्फत ती शिक्षकलाई तलब उपलब्ध गराउने गरी बजेट बजेटको व्यवस्था गरिएकामा परियोजनाबाट सहयोग उपलब्ध नभएका कारण तलब खुवाउन नसकिएको हो  । कात्तिकदेखि तलब नआउँदा आफूहरुलाई दैनिक खर्च चलाउनसमेत समस्या हुँदै गएको सम्बद्ध शिक्षकको गुनासो थियो । 

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले आर्थिक सहयोग प्राप्त नभएकाले समस्या थपिएको बताउनुभयो । परियोजानबाट सहयोग नपाए शिक्षकहरुलाई स–सम्मान बिदाइ गर्ने बाहेक पालिकासँग अन्य विकल्प नभएको र आफूहरुसँग स्रोत व्यवस्थापन गर्ने आधार नभएकाले उक्त सहयोग नपाए ती शिक्षकलाई भुक्तानी दिनुपर्ने रकमको अभिलेख राखि स–सम्मान बिदाइ गरिने उहाँले उल्लेख गर्नुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।