धरान । तत्कालीन माओवादी द्वन्द्वकाल र जनजातिको जीवनशैलीको कथावस्तु समेटिएको नाटक‘कुमार मामा’ बुधबारदेखि मञ्चन सुरु भएको छ ।
जनजातिको संस्कृति,जीवन शैली जीवन्त बनाइरहने चाहनालाई नाटकका रुपमा उजागर गर्ने नाटक कुमार मामा धरान ८ स्थिर सभागृह भवनमा मञ्चन भएको हो । आगामी फागुन ३० गतेसम्म मञ्चन हुने नाटकमा बिष्णु मोक्तान,उदय बेघा लिम्बु,सजेस्ट घायल राई,विकास कुलुङ्ग,मान बहादुर,दीपेन्द्र राई,एलिना रुम्दाली,करिश्मा क्षेत्री,एन्जल तामाङको अभिनय रहनेछ ।
माओवादी द्वन्द्वकाल र तत्कालीन सामाजिक परिवेशलाई सजीव रुपमा चित्रण गरेको नाटक कुमार मामा हेर्न निर्देशक बिष्णु मोक्तानले आग्रह गरे । रैथाने मौलिक कलासंस्कृति,राज्यसँग जोडिएको र भुईँमान्छेको कथा नाटकमा रहेको उनले बताए ।
बुधबारदेखि सुरु भएको नाटक मञ्चनमा उल्लेख्य संख्यामा विभिन्न स्रष्टा,राजनीतिज्ञ,कलाकार,साहित्यकार,सामाजिक क्षेत्रका अगुवा व्यक्ति एवं सञ्चारकर्मीहरुको उपस्थिति थियो । नाटकको कथा पत्रकार तथा लेखक जनकऋषि राई हुन् ।
नाटक कुमार मामाको मुख्य भूमिकामा निर्देशक बिष्णु मोक्तानलाई हेर्न सकिन्छ । नाटक कस्तो रहेको छ भन्ने थाहा पाउन भने हरेक साँझ ४ बजे धरान सभागृह जानैपर्ने हुन्छ ।