उपत्यकामा नेपाल टेलिकमको फाइबर सेवामा देखिएको समस्याका सम्बन्धमा कम्पनीको यस्तो छ आग्रह

अर्थबिट २०७९-११-१९ १४:१७:०० बजे

काठमाण्डौ।नेपाल टेलिकमले ग्राहकवर्गलाई सेवा प्रदान गर्नको लागि अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका संरचनासँग विभिन्न उपकरणहरु आबद्ध गरी सेवा सञ्चालन गरिरहेको छ । सडक, खानेपानी, ढल, विद्युत, लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा यी संरचनामा क्षति पुग्ने गरेको छ । यसले गर्दा हजारौ ग्राहकहरु वर्तमान समयमा अत्यावश्यक भइसकेका दूरसञ्चार सेवाहरु प्राप्त गर्नबाट तत्काल वञ्चित हुनुपर्ने अवस्था आउने गरेको छ । यही क्रममा काठमाण्डौ उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, किर्तिपुर लगायत विभिन्न स्थानमा पछिल्ला केही दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुग्न गई हजारौं ग्राहक केही अवधिका लागि सेवा प्रयोग गर्नबाट वञ्चित रहनुपरेको थियो ।

यस्तै अवस्थालाई मध्यनजर गरी संरचना निर्माण वा विस्तारको क्रममा सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता रहेको छ । कम्पनी सबै निकायसँग समन्वय र सहकार्यका लागि सदैव तत्पर छ । दूरसञ्चार अत्यावश्यक र संवेदनशील सेवा समेत भएकोले सबै सम्बन्धित पक्ष तथा आम सर्वसाधारणमा निरन्तर सेवा प्रवाहमा साथ दिन टेलिकमले आग्रहसमेत गरेको छ । संरचनामा क्षति पुगी सेवा सञ्चालनमा समस्या आउँदा सेवा निरन्तरताका लागि तत्काल मर्मत कार्य अघि बढाउने गरिएको छ । यस क्रममा क्षतिको प्रकृति अनुसार पुनः सेवा सुचारु गर्न केही समय लाग्नसक्ने सम्भावना पनि रहन्छ । विविध कारणबाट ग्राहकवर्गले निरन्तर सेवा प्रयोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्थाप्रति कम्पनी क्षमाप्रार्थी हुनुका साथै कम्पनीका सेवा प्रयोगमा निरन्तरताको अपेक्षा टेलिकमले गरेको छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।