उमेर पुगेपछि विवाह गरे रू दश हजार पुरस्कार

अर्थबिट २०७९-१२-०२ ०७:२१:०० बजे

मान्म।कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही रू १० हजार पुरस्कार दिने निर्णय गरेको छ । यही चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई रू १० हजार दिने निर्णय गरेको हो । 

बालविवाहका घटना बढ्दै जान थालेकाले त्यसलाई रोकथाम गर्ने उद्देश्यले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई पुरस्कार दिने निर्णय गरिएको वडाध्यक्ष प्रेमबहादुर शाहीले बताउनुभयो ।

उहाँले वडाका कसैले विवाह गरेमा वडा कार्यालयको सिफारिस लिनुपर्ने भन्दै बालविवाह रोक्न यस्तो नीति लिइएको बताउनुभयो । वडाका कुनै पनि महिला र पुरुषले अन्य कुनै वडा वा जिल्लाबाट विवाह गर्नुपरेमा उमेर खुलेको प्रमाणपत्रसहित वडाबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनेको वडाध्यक्ष शाहीले जानकारी दिनुभयो । “कसैले सिफारिस नलिई विवाह गरेमा वडाबाट प्रदान गरिने सबै सेवा सुविधा बन्द गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।

उमेर नपुगेको पाइएमा कानुनअनुसार कारबाहीका लागि वडाले नियम बनाउन लागेको गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले बताउनुभयो । “यसभन्दा अघि शुभकालीका–४ ले वडाको सिफारिसबिना विवाह गर्न नपाइने र गरिहालेमा केही सेवाबाट वञ्चित गर्ने निर्णय गरेको थियो ।” उहाँले भन्नुभयो, “अब यो नियम पालिकाभरी लागू हुनेगरी बनाउँदै छौँ ।”

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।