वीरगञ्जमा पहिलो पटक ‘रात्रि बजार’ लगाउने तयारी

अर्थबिट २०७९-१२-०७ १२:१२:०० बजे

वीरगञ्ज।अर्थतन्त्रलाई चलायमान बनाउन नयाँ वर्षको अवसर पारेर वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमै पहिलो पटक ‘रात्रि बजार’ लगाउने भएको छ । 

यही चैत ३० गते बेलुकादेखि २०८० वैशाख २ गते मध्यरातिसम्म वीरगञ्जको आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ लगाइने महानगरपालिकाले जनाएको छ । 

वीरगञ्जवासीको सपना साकार पार्ने सङ्कल्पअनुरुप वीरगञ्जमै पहिलो पटक ‘रात्रि बजार’ लगाउन लागिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो । आर्थिक नगरी भनेर वीरगञ्ज परिचित भए पनि यहाँको व्यवसाय साँझ नपर्दै बन्द हुने गरेकाले यहाँको अर्थतन्त्र चलायमान बनाउन र बजार अबेरसम्म सञ्चालन हुने वातावरण बनाउन परीक्षणस्वरूप नयाँ वर्षको अवसर पारेर तीन दिने रात्रि बजार लगाउने तयारी गरिएको महानगरप्रमुख सिंहले बताउनुभयो । 

“व्यावसायिकरूपमा वीरगञ्जको पहिचान थप बढाउन र रोजगारको अवसर प्रदान गर्ने योजनासहित ‘रात्रि बजार’ लगाउन लागेका हौँ”, उहाँले भन्नुभयो, “यसले बजार चलायमान बनाउने विश्वास लिएका छौँ ।”

महानगरको आयोजनामा वीरगञ्जमै पहिलो पटक हुन लागेको ‘रात्रि बजार’ मा विभिन्न ठाउँका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडालगायतका सरसामान पाउनुका साथै वीरगञ्जमै पहिलो पटक तन्दुरी चायको शुरुआत गरिने पनि महानगर प्रमुख सिंहले जानकारी दिनुभयो । 

रात्रि बजार आयोजना गर्दै गर्दा अवसर र चुनौतीबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको र यसबाट नयाँ सन्देशसहित सफलता प्राप्त भए लामो समयसम्म बजार लगाउन सकिने भएकाले वीरगञ्जमै पहिलो पटक नयाँ अवधारणासहित लाग्ने बजारमा सहभागी भई सफल बनाउन प्रमुख सिंहले अपिल पनि गर्नुभयो । 

ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एन.वाई.ई.एफ, वीरगञ्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोर.जि.आर जस्ता संस्थासँगको सहकार्यमा ‘रात्रि बजार’ तयारीको काम अघि बढाइएको उहाँले बताउनुभयो । रात्रि बजारमा लगाइने स्टलहरू बुकिङको काम अहिले धमाधम भइरहेको सहआयोजक ग्रिन सिटीका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो । 

आदर्शनगर चोकदेखि कैलाश चोक र त्यहाँबाट पुरानो बसपार्कसम्मको क्षेत्रमा करिब एक सय स्टल लगाउने गरी आवश्यक तयारी गरिएको र अहिले स्टल बुकिङको काम धमाधम भइरहेको उहाँले बताउनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।