धरान।एबीसी सेक्युरिटीज प्राइभेट लिमिटेडले धनकुटामा हिजो(शनिबार) एकदिने शेयर बजार सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
एबीसी से्क्युरिटीजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्व वित्तीय सप्ताह २०२३ को सन्दर्भमा लगानीकर्ताहरुको शेयर बजार र यसमा हुने कारोबारमा जनचेतना फैलाउँदै लगानीलाई सुरक्षित बनाउने उद्धेश्यका साथ ‘सचेतनामुलक कार्यक्रम’ आयोजना भएको धरान शाखा प्रमुख योगेश अग्रवालले बताए ।
उक्त सचेतना कार्यक्रमका प्रमुख प्रशिक्षक तथा एबिसी सेक्युरिटीजका कार्यकारी अध्यक्ष नितेश अग्रवालले नेपालको शेयर बजार र बजार चक्रको मनोविज्ञानका विषयमा बृहत् जानकारी दिएका थिए । पहिलो सेसनमा शेयर बजारका नियामक निकाय,बजारका प्रकार, बजार सञ्चालनका विविध पक्षमा चर्चा गरेका अग्रवालले शेयर बजार प्रवेश कसरी गर्ने र किनबेचका प्रक्रियाका विषयमा समेत जानकारी दिएका थिए । उनले दोस्रो सेसनमा भने शेयर बजारको चक्रमा लगानीकर्ताको मनोविज्ञानका विभिन्न पक्षहरुका विषयमा समेत विश्लेषण गरे । स्मार्ट इन्भेष्टर हुन सके दोस्रो बजारमा मनग्यै कमाउन सकिने दाबी गर्दै अग्रवालले अर्को बुलका लागि तयार रहन समेत शेयर लगानीकर्ताहरुलाई आग्रह गरे ।

यसैगरी सोही कार्यक्रममा मिडिया पार्टनरसमेत रहेका अर्थबिट डटकमका सञ्चालक तथा सम्पादक भक्तराज रसाइलीले लगानीकर्ताहरुले विविध विषयमा चनाखो भई स्वाध्ययन गरी शेयर बजारमा लगानी गर्नुपर्नेमा जोड दिए । लगानीकर्ता स्वयंले आफैंलाई मूल्यांकन गरी स्पष्ट उद्धेश्य र योजनामा आधारित शेयर बजारमा लगानी गरेमा सफल हुन सकिने उनको भनाइ छ ।
कार्यक्रमको समापन गर्दै एबिसी सेक्यरिटीज धरान शाखा प्रमुख योगेश अग्रवालले धरान मै रहेर पनि धनकुटाबासीलाई ब्रोकरेज सम्बन्धी जुनसुकै सेवा सहज ढंगले प्रदान गर्ने प्रतिवद्धता जाहेर गरे ।
उक्त कार्यक्रमा ८० जनाको उपस्थिति रहेको थियो ।

एबिसी सेक्युरिटिज प्रालि ब्रोकर न १७, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई २०५४ साउन १० गतेबाट शेयर कारोबार गर्दै आएको संस्था हो । काठमाण्डौको इन्द्र चोकमा केन्द्रीय कार्यालय रहेको यस एबिसी सेक्युरिटीज प्रालिले केन्द्रीय कार्यालय सहित हाल धरान शाखाबाट पनि ब्रोकर कार्यालयले प्रदान गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।