बिनाअनुमति सञ्चालन भएका तथा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने ६४ व्यावसायिक फर्ममाथि कारबाही

अर्थबिट २०७९-१२-२१ ०९:४०:०० बजे

वीरगञ्ज।बिनाअनुमति सञ्चालन भएका तथा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने पर्साका ६४ व्यावसायिक फर्ममाथि कारबाही गरिएको छ ।

अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल नकाट्ने र इजाजत नलिएका ६४ व्यावसायिक फर्ममाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्साले कारबाही गरेको हो । 

चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना अवधिमा ती व्यावसायिक फर्ममाथि गरिएको कारबाहीबाट रु एक लाख ४९ हजार राजस्व सङ्कलन भएको सो कार्यालयका सूचना अधिकारी दिलीप खङ्ग खत्बेले जानकारी दिनुभयो । 

यस्तै चालु आव २०७९/८० को आठ महिना अवधिमा प्राइभेट र साझेदारी फर्म गरी दुई सय ४३ वटा व्यावसायिक फर्म दर्ता भएको जनाएको छ । सो अवधिमा एक हजार छ सय ३९ प्राइभेट फर्म र ४३ साझेदार फर्मको नवीकरण गरिएको र छ सय ७७ प्राइभेट तथा १३ साझेदार फर्म संशोधन गरिएको सूचना अधिकारी खङ्गले बताउनुभयो । 

यस्तै उक्त अवधिमा एक सय ७५ वटा प्राइभेट र पाँचवटा साझेदार फर्मको दर्ता खारेज गरिएको उहाँले जानकारी दिनुभयो । ती सबै शीर्षकबाट रु ८० लाख ३४ हजार तीन सय राजस्व सङ्कलन भएको सूचना अधिकारी खङ्गले बताउनुभयो । म्याद गुज्रिएको सामान बिक्री गर्ने, खरिद र बिक्री बिल नकाट्ने तथा मूल्यसूची नराख्ने प्रवृत्ति बढेकाले बजार अनुगमनलाई निरन्तता दिएको कार्यालय प्रमुख सुरेशकुमार रेग्मीले जानकारी दिनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।