धरान।नयाँ वर्षको अवसरमा भोलि(शुक्रबार) धरानमा साङ्गीतिक कार्यक्रम हुने भएको छ ।
मकालु कला केन्द्रको आयोजनामा धरान–११ स्थित सगरमाथा खेलमैदानमा वैशाख १ गते साङ्गीतिक कार्यक्रम हुने भएको हो ।
‘सुन्दर समाजको निर्माण, कला, साहित्य र संस्कृतिको सम्मान एवम् उजागर हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नव वर्ष २०८० को अवसरमा वैशाख १ गते हुन गइरहेको साङ्गीतिक तथा सांस्कृतिक भेट २०८० हुने कार्यक्रममा स्थानीय नवआवाजदेखि व्यावसायिक आवाजहरु एउटै मञ्चमा निः शुल्क मनोरञ्जन प्रदान गरिने संयोजक विजय वाम्बुले राईले बताए ।
भोलिको कार्यक्रमका लागि कलाकारहरु आउने क्रम जारी रहेको बताउँदै उनले ८ वर्षपछि पुनः बृहत साङ्गीतिक कार्यक्रममा निःशुल्क सहभागी हुन आग्रहसमेत गरे । लगभग सम्पूर्ण तयारी सकिसकेका कार्यक्रम संयोजक राईले बताए ।
कार्यक्रममा कला राई, जशोदा सुब्बा, द भोइस अफ नेपालको सेमिफाइनलिष्ट सुरक्षा सेन्च्युरी, विजय वाम्बुले राई, कुवेर खम्बु, डिजे मेवाहाङ, अरुण लिम्बू, कविराज राई, भीमराज क्षेत्री र स्थानीय कलाकारका साथमा गरिमा डान्स सेन्टरको समेत प्रस्तुति रहने संयोजक राईले जानकारी दिए ।