वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका पीडित परिवारलाई रु. छ करोडभन्दा बढी रकम क्षतिपूर्ति

अर्थबिट २०८०-०१-१४ १२:३७:०० बजे

इनरुवा।सुनसरीमा वैदेशिक रोजगारीको शिलसिलामा ठगीमा परेका परिवारलाई छ करोड क्षतिपूर्ति वापतको रकम पीडित परिवारलाई उपलब्ध गराइएको छ । 

पीडित परिवारले दिएको उजुरीका आधारमा सुनसरीमा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका पीडित परिवारलाई चार वर्षमा रु छ करोडभन्दा बढी रकम क्षतिपूर्ति वापत उपलब्ध गराइएको हो । वैदेशिक रोजगारका नाममा पीडित भएकाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सुनसरीमार्फत क्षतिपूर्ति वापतको रकम पाएको सामीका सुनसरी कार्यक्रम संयोजक धीरज भट्टराईले जानकारी दिनुभयो । 

आप्रवासी स्रोत केन्द्र र अन्य निकायको समन्वयमा जिल्लाका पीडितले २०७६ देखि हालसम्म चार वर्षमा रु छ करोड ४० लाख ३५ हजार पाँच सय  क्षतिपूर्ति वापत रकम प्राप्त गरेको सुरक्षित आप्रवासन (सामी) का कार्यक्रम संयोजक भट्टराईले जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र र प्रहरीको सहयोगमा रु ७२ लाख ५७ हजार पाँच सय, श्रम कार्यालय प्रदेशको सहयोगमा तीन लाख ३० हजार, पिपुल फोरमको सहयोगमा एक लाख र मृत्युसम्बन्धी क्षतिपूर्ति रु पाँच करोड ६३ लाख ४९ हजारसहित अन्य निकायको समन्वयमा रु छ करोड ४० लाख ३५ हजार पाँच सय क्षतिपूर्ति वापत रकम पाएको उहाँले बताउनुभयो ।  

सामीले आव २०७६/२०७७ देखि चालु आवसम्म सुनसरीबाट सामीमा परामर्श लिएर विदेश जाने १७ हजार नौ सय पुरुष र तीन हजार आठ सय ५५ महिला गरी २१ हजार सात सय ५५ रहेको उहाँले बताउनुभयो । सामीले एक सय २९ पुरुष र ८७ महिलालाई निःशुल्क रुपमा सीपमूलक तालिम दिएको उहाँले बताउनुभयो । सामीले यो तथ्याङ्क श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्कमा आधारित भएको जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।