नेपाल बिजनेस समिटले आर्थिक क्षेत्रमा नयाँ आयाम थप्ने

अर्थबिट २०८०-०१-१८ ०५:१६:०० बजे

काठमाण्डौ।अर्थतन्त्रमा चुनौतीहरु बढ्दै गइरहेको सन्दर्भमा सरकार र निजी क्षेत्रको साझेदारीमा नेपाल बिजनेस समिट २०२३ आयोजना हुने भएको छ । 

सरकार र निजी क्षेत्र बीचको दुरी कम गर्दै उद्यमी व्यवसायी र बैंक, वित्तीय क्षेत्रको मनोवल बढाउन शिखर सम्मेलन आयोजना गरिएको हो । 

संघीय सरकारको उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) तथा नेपाल विजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा आयोजित सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यता  र विशेष सम्बोधन रहने छ । राजधानीमा भर्खरै आयोजित शिखर सम्मेलनबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन कुमार गोल्यानले उद्योगी, व्यवसायी र बैंक तथा वित्तीय संस्थाले भोग्दै आएका समस्याहरु समाधानका लागी पहल गर्न र वित्तीय संस्थाबारेको भ्रम निवारणका लागी बिजनेस समिट आयोजना गरेको बताउनु भयो । पछिल्लो वित्तीय चुनौतीले उद्योगी व्यवसायी र बैंक वित्तीय संस्थाबीचको दुरी बढ्दै जाने सम्भावना रहेको बताउँदै गोल्यानले कृषि, पर्यटन, उर्जा, नियार्त क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटिका संयोजक विशाल गैरेले सिखर सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवर्धन गर्ने र सो को लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा  टेवा पु¥याउने उद्देश्य राखेको जानकारी गराउनु भयो । यस कार्यक्रम देशभरिका लगभग ४०० जनाको सहभागी हुने अपेक्षा गरिएको छ। 

सिविफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले उद्ममशीलता र व्यवसायिक प्रवर्धनका लागि बिजनेस समिट आयोजना गरेको बताउनु भयो । सिविफिनका उपाध्यक्ष राजेश उपाध्यायले सरकार र निजी क्षेत्रबीचको यो शिखर सम्मेलनले अर्थतन्त्रको भिजन डकुमेन्ट तयार गर्ने र आगामी दिनमा यसले जारी गर्ने घोषणा पत्र सरकारको नीति, कार्यक्रममा समेटिने विश्वास व्यक्त गर्नुभयो । 

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा सम्पन्न हुने उक्त सम्मेलनमा अर्थमन्त्री डा.प्रकाशशरण महत, विश्व बैंक समुहको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) का एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्टका सल्लाहकार कमर सलिम,, वरिष्ठ उद्यमी तथा प्रतिनिधिसभाका माननीय सदस्य  विनोदकुमार चौधरी,  वरिष्ठ अर्थशास्त्री तथा प्रतिनिधिसभाका माननीय सदस्य डा. स्वर्णिम वाग्ले,  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, उद्योग, बाणिज्य तथा आर्पुर्ती मन्त्रालयका सचिव मधु कुमार मरासिनी, विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जर्भोस, एफएनसिसिआइका पूर्व अध्यक्ष भवानी राणा, सिएनआइका पूर्व अध्यक्ष हरिभक्त शर्मा, म्यानेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल के.सी.,वोल्र्ड लिंकका अध्यक्ष दिलिप अग्रवाल, डोल्मा अर्गनाइजेशनका प्रबन्ध निर्देशक जोसेफ अल्भान, दराज नेपालका प्रवन्ध सञ्चाल आँचल कुँवरसलगायत विभिन्न देशका राजदुतहरु, अर्थशास्त्रीहरु, उद्यमी–व्यवसायीहरु, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवहरुले सो कार्यक्रममा सम्बोधन गर्नु हुनेछ । 

शिखर सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरुको सृजना हुने,  लगानीका सम्भावित क्षेत्रहरुको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिलाहरु उद्यमरव्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरुको स्तरोन्नतिसहित नवप्रर्वतन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा  वित्तीय क्षेत्रको दिगो प्रवर्धन हुने तीन तहकै सरकार, निजी क्षेत्र र कुटनीतिक नियोगविच सम्बन्ध विस्तार भइ उच्चस्तरको नेटवर्किङ् हुने अपेक्षा समेत राखिएको छ ।  सिखर सम्मेलनमा देशभरका उद्यमी ब्यवसायी र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि गरी  धेरै ठुलो संख्यामा सहभागिता रहने र सम्मेलनको तयारी सम्पन्न भएको समेत पत्रकार सम्मेलनमा सिविफिनका महानिर्देशक  डा. गोपालप्रसाद तिवारीले जानकारी दिनुभयो । डा तिवारीले अर्थतन्त्रमा अहिले देखिएको चुनौती लाई सामान गर्न बिशेष सुझाब सहित को अबधारना पत्र तयार गरिने कुरा बताउनु भयो।   पत्रकार सम्मेलनमा सिविफिनका कार्यसमिति सदस्य महेन्द्र कुमार गोयल र एनबिआईका निर्देशक धर्मराज रेग्मीलगायतको समेत उपस्थिति थियो । 

शिखर सम्मेलनमा टाइटल स्पोन्सर वल्र्ड लिंक कम्युनिकेशनको रहेको छ भने आइएफसि वल्र्ड बैंक, डब्लुडब्लुएफ, नविल बैंक, एनएमवी बैंक, सिद्धार्थ बैंक, दराज नेपाल, नेपाल एयरलाइन्स, राष्ट्रिय बाणिज्य बैंक, नमस्ते पे, कामना सेवा विकास बैंक, महालक्ष्मी बिकास बैंक, गरिमा विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलगायतले साझेदारी गरेका छन् ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।