पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढ्यो,तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने

अर्थबिट २०८०-०२-१९ ०८:५५:०० बजे

काठमाण्डौ।विगत केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढेको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस गरिएको हो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको बताउनुभयो । “देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव परिरहेको छ, तर पनि मनसुनको समय भइसकेकाले सङ्क्रमणकालीन समय (प्रिमनसुन सकिने र मनसुन भित्रिनेबीचको समय) भएकाले अझै केही दिन वर्षा हुदैन”, उहाँले भन्नुभयो । 

उक्त मौसमी प्रणालीका कारण केही दिन गर्मी बढ्ने अनुमान गरिएको मौसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार मनसुन नभित्रिएसम्म तापक्रम केही दिन बढ्ने देखिन्छ । “तराईका केही जिल्लामा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेर गर्मी बढ्ने देखिन्छ भने काठमाण्डौ उपत्यकामा पनि क्रमिकरुपमा तापक्रम बढिरहेको छ”, उहाँले भन्नुभयो ।

मनसुनी वायु सक्रिय नरहे पनि देशका पहाडी भेगमा भने अबको तीन दिन छिटफुट वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो । तराई क्षेत्रमा मौसम सफा रहने हुनाले गर्मी बढ्ने उहाँको भनाइ थियो ।

आज काठमाण्डौको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ । पछिल्लो केही दिनयता काठमाण्डौको अधिकतम तापक्रम २३ देखि ३५ डिग्रीसम्म पुगेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि चर्को घाम लागेकाले अत्यधिक गर्मी महसुस गरिएको छ ।

देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालमा सामान्यतः जुन १३ तारिखमा पूर्वी नेपाल भएर मनसुन भित्रिने सरदर मिति रहे पनि यो पटक मनसुन करिब दुई साता ढिला गरी अर्थात् असारको पहिलो सातामात्रै नेपालमा प्रवेश हुने अनुमान गरिएको मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।

विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण धनुषा, बारा, पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको राससमा सम्बन्धित जिल्लाबाट समाचार सम्प्रेषण भएका छन् । तराई मधेसमा ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम वृद्धि भएको समाचारमा उल्लेख छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।