सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो

अर्थबिट २०८०-०२-१९ ०९:०६:०० बजे

सिन्धुली।सुनकोशी नदीमा आज विहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ । 

भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा  खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा चार जना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल हुनुभएको थियो भने बाँकी तीन जना अझै बेपत्ता हुनुहुन्छ ।

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भइ सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका-७ का घर भइ हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल रइलाम फुयतया नगरपालिका–५ घर भइ हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल हुनुहुन्छ ।

सडकबाट गाडी करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो । घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको र उहाँको हाल शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

स्कार्पियो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । बेपत्ताहरूकाे खोजी भइरहेको नायब उपरीक्षक दाहालले जानकारी दिनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।