आत्मबलले शेयर बजार बढ्दैछ !

अर्थबिट २०८०-०२-३१ १०:२४:०० बजे

काठमाण्डौ।पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा शेयर लगानीकर्ताहरुको आत्मविश्वास क्रमशःवृद्धि भइरहेको छ । लगानीकर्ताहरुमा देखिएको बलियो आत्मविश्वासले नेप्से परिसूचक र कारोबार रकमसमेत उचालिरहेको देखिन्छ ।

कयौं जोडबलका साथ हिजो मात्रै नेप्से परिसूचक २ हजार विन्दू माथि उक्लिरहँदा दैनिक कारोबार रकम ४ अर्ब रुपैयाँमाथि उक्लियो । अन्य क्षेत्र डामाडोल भइरहेको सन्दर्भमा शेयर बजारमा चाहिँ किन एकाएक रौनकता छायो भन्ने विषयमा हामीले सक्रिय लगानीकर्ताहरुको धारणा बुझ्ने प्रयास गरेका छौं ।

दोस्रो बजारमा सक्रिय शेयर लगानीकर्ता सिर्जना सुवेदी आत्मबल वृिद्ध भएकै कारण परिसूचक र कारोबार रकम दुवैमा बढोत्तरी आइरहेको बताउँछिन् । ‘पछिल्लो समय शेयर बजारलाई पेशा बनाएरै लगानी गर्ने परिपाटी छ जसले अल्पकालीन कारोबारी बढाइरहेको देखिन्छ । उनै कारोबारीहरुले बजारको उत्तारचढावलाई सक्रिय रुपमा अवसर लिइरहेका पनि छन् ।’,उनले भनिन् ‘ मेरो अध्ययनमा चाहिँ आजकल प्रायः दीर्घकालीनभन्दा पनि अल्पकालीन कारोबारी शेयर बजारमा हावी छन् ।’ बलियो आत्मबल बजारमा देखिएकाले बजारमा लगानी थप गर्न शेयर धितो कर्जा लिएर फण्ड व्यवस्थापन गर्न उनले सुझाइन् । 

साना लगानीकर्ताहरु नाफा बुक गर्न र ठूला लगानीकर्ताहरु शेयरको कित्ता जम्मा गर्ने रस्साकस्सीले नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि देखिएको दोस्रो बजारमा लामो समयदेखि सक्रिय अर्जुन राज आचार्य दाबी गर्छन् । ‘आत्मबल बढेका कारण पैसा बिनै पनि शेयर किनबेच व्यापक भइरहेको छ । आत्मबल बढेपछि अटोमेटिक नगद विभिन्न सेक्टरमा घुमाइरहेको देखिन्छ ।’,आचार्यले अर्थबिटसँग भने,‘ ब्याजदरमा थोरै कटौती र तरलता सहज हुँदै जानुले पनि बजारमा रौनकता छाइरहेको छ ।’ आफूसँगै होल्डमा रहेको कम्पनीको शेयर बजार तल आउँदा किन्ने माथि जाँदा बेच्ने गर्दा पनि मनग्ये नाफा कमाउन सकिने जिकिर गर्दै उनले आफ्नै अनुभव साट्दै भने,‘ केही समयअघि मात्रै मैले पुरानो स्टक बेचेर चलायमान शेयर किने । नोक्सान भएको स्टकको मूल्य अहिले जहाँको तहीँ छ । नयाँ स्टकमा २० प्रतिशत मुनाफा आइसक्यो ।’ त्रैमासिक ब्याज तिर्ने हैसियत भएमा कर्जा लिँदा अहिले बजारमा राम्रै कमाउने अवसर देखिएको आचार्यको बुझाइ छ । 

यसैबीच बुटवलका सक्रिय लगानीकर्ता माधव पाण्डे बजार झरेर न्यूनतम विन्दू ओर्लिएपछि पुनः फर्किने अवस्थामा रहेको बताउँछन् । घट्दो ब्याजदर, तरलतामा देखिएको सुधार र लगानीका अन्य क्षेत्र खुम्चिरहेकाले पनि हाल कम जोखिम रहेको शेयर बजारमा आकर्षण देखिएको उनको ठहर छ । यसअघिको बजारमा फण्डामेन्टल स्टक चले तापनि आजकल भने कम पूँजीका नन फण्डामेन्टल स्टकहरुमा ट्रेडरहरुको आकर्षण रहेको उनले दाबीसमेत गरे । 

अर्का लगानीकर्ता अमिर तिमिल्सिना भने शेयर बजारमा रौनकता छाउनुमा आत्मबलमा भएको वृद्धि र ब्याजदर घटदे दरमा हुनुलाई मुख्य कारक मान्छन् । ‘म प्राविधिक विश्लेषण पनि गर्ने भएकाले प्राविधिक रुपमा बजार बुल रनमा प्रवेश गरेको मेरो बुझाइ छ । यसैकारण पनि पछिल्लो समयमा अलिक धेरै नै शेयर कारोबार गरिरहेको छु । मुनाफा पनि मज्जाले नै कमाइरहेको छु ।’,उनी भन्छन्, ‘सरकारसमेत शेयरबजारमा लचिलो भइसकेकाले अब गभर्नर पनि थप लचिलो हुनुपर्ने छनक देखिन्छ ।’ यदि नगद नभएमा आफूसँगै रहेको स्टक बढेको बेला बेच्ने र घटेको बेला किन्ने गरेमा पनि शेयरको कित्ता बढाउन सकिने उनको भनाइ छ । 

बजार अझै बढ्ने शेयर बजारमै सक्रिय लगानीकर्ता आदित्य चापागाईंको दाबी छ । नीति झन् खुकुलो हुने अपेक्षाले समेत पछिल्लो समय शेयर बजारमा रौनकता छाएको उनले बताए । बैंकको तरलतामा सुधारले बजारलाई बुल रनमा धकेलेको उनको बुझाइ छ । परिस्थिति हेरेर स्टक र सेक्टरलाई मिलाएर शेयर कारोबार गर्न उनले सुझाए ।  

 

 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।