बझाङ दुर्घटना अपडेट : दुई जनाको मृत्यु

अर्थबिट २०८०-०३-०५ १०:४८:०० बजे

महेन्द्रनगर।बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया अमृता सिंह र ६० वर्षीया जयादेवी सिंह रहेका छन् । अमृता सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती हुनुहुन्छ । 

रायल प्राथमिक स्वास्थ्य केन्द्र देउराका डा अरविन्द्र अधिकारीका अनुसार दुर्घटनामा घाइते हुनुभएका मन्त्री पत्नी अमृता र भाउजु नाता पर्ने जयादेवीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको हो ।

“दुवै जनाको उपचारका लागि यहाँ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो”, उहाँले भन्नुभयो–“शव प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ ।”

त्यसैगरी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमा बाँकेको नेपालगन्ज लगिएको छ । मन्त्री सिंहसँगै जीप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगन्ज लगिएको डा अधिकारीले बताउनुभयो । 

प्रदेश मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको जीप  डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।