कान्ति राजमार्गमा तीन पुल निर्माण गरिने

अर्थबिट २०८०-०३-१९ १५:१०:०० बजे

काठमाण्डौ।निर्माणाधीन कान्ति राजमार्गमा तीन ठाउँमा पुल निर्माण गरिने भएको छ । तीन पुलको निर्माणका लागि प्रक्रिया अघि बढेको कान्ति राजमार्ग योजनाले जनाएको छ । 

पहिले एक लेनको पुल रहेकामा सडक जतिकै चौडा बनाउन तीन ठाउँमा दुई लेनको पुल निर्माण अघि बढाउन लागिएको योजना प्रमुख सुरेश न्यौपानेले जानकारी दिनुभयो । 

ललितपुरतर्फ बगुवामा पुल निर्माणका लागि प्राविधिक पक्षको मूल्याङ्कनको काम भइरहेको उहाँले बताउनुभयो । त्यो सकिएपछि आर्थिक प्रस्तावमा जाने उहाँले जानकारी दिनुभयो ।  मकवानपुरतर्फ सिमाद खोलामा पुल बनाउन लागिएको छ । सिमाद खोलाका दुई पुलकै लागि ठेक्का आह्वान भइसकेको छ । यो आवमा तीनवटै पुलको ठेक्का सम्झौता भइसक्ने उहाँले बताउनुभयो । योजना प्रमुख न्यौपानेले भन्नुभयो, “सम्झौता भएपछि आगामी आवदेखि निर्माणमा जान सकिनेछ ।” 

बगुवाको पुल निर्माणको अवधि साढे दुई वर्ष र अरु दुई वटाको १५/१५ महिनाको रहेको योजनाले जनाएको छ । बगुवाको पुलको लम्बाइ ९५ मिटर रहेको छ । यसलाई लामो पुल मानिने र अरु दुई पुल भने १८ र ३५ मिटरका रहेका छन् । उहाँले भन्नुभयो, “यी दुई पुललाई छोटो मानिन्छ ।” 

बगुवामा दुई लेनको पुल निर्माण हुनेछ । गाडी हिँड्ने भाग सात मिटर, त्यो बाहेक पैदलयात्रु मार्ग दुवैैतर्फ डेढ÷डेढ मिटर गरेर जम्मा १० मिटर हुने प्रमुख न्यौपानेले जानकारी दिनुभयो । कान्ति राजमार्गमा सडक नालीसमेत गरी ११ मिटर रहेको छ । 

सरकारले आगामी आवका लागि विनियोजन गरेको बजेटमा अरू योजनामा बजेट कम भए पनि यो योजनामा गत वर्षहरूको तुलनामा बजेट कम नभएको उहाँले बताउनुभयो । योजनामा सडक र पुलहरू निर्माणाधीन रहेकाले पनि बजेट कम नभएको हो । 

निर्माण सुरु भएको छ दशकपछि राजमार्गको निर्माण थोरै मात्रै बाँकी रहेको छ । खासगरी कठिन भौगोलिक संरचना भएको र विगतका वर्षहरूमा पटक पटक पहिरा आएको सडकखण्डमा कालोपत्रे गर्न बाँकी रहेको छ । अहिले कालोपत्रे गरे पनि पहिरोले क्षति पु¥याउने हुँदा पहिले समस्याग्रस्त खण्डको व्यवस्थापन गरी निर्माण अघि बढाउन लागिएको न्यौपानेले बताउनुभयो । सो खण्डको निर्माणका लागि अर्थ मन्त्रालयसँग रु ६६ करोडका लागि स्वीकृति माग गरिएको छ । बहुवर्षीय ठेक्कामार्फत स्रोत सुनिश्चित भएपछि नै थप काम गर्न सकिने भएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।