पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ

अर्थबिट २०८०-०३-२१ १५:५४:०० बजे

जानकी।बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । 

प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका–२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका–३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन् । 

डिभिजन कार्यालय बाँकेका वन अधिकृत अजितकुमार कर्णका अनुसार छाला र हड्डी वयस्क पोथी बाघको हो । छालाको लम्बाइ नौ फिट आठ इञ्च रहेको छ । घाँटीमा दुई ठाउँमा गोलीको प्वाल फेला परेको छ । बरामद गरिएको हड्डी कतिवटा बाघको हो भन्नेबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।  

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ का अनुसार पक्राउ परेका चारै जना दोषी भएको पुष्टि भएमा पाँचदेखि १५ वर्षसम्मको कैद वा रु पाँच लाखदेखि रु १० लाखसम्मको जरिवाना अथवा दुवै सजाय हुनसक्ने वन अधिकृत कर्णले बताउनुभयो । चारै जनाबारे थप अनुसन्धन डिभिजन वन कार्यालय गरिरहेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।